Wide Nepal News शनिबार ०८, मङि्सर २०८१ ०६:४९

सेनामा जागिर लगाई दिने भन्दै झन्डै १५ लाख रुपैयाँ ठगी गर्ने ८ जना दार्चुला प्रहरीको फन्दामा

सम्बाददाता सम्बाददाता
बुधबार, साउन १७, २०८०
सेनामा जागिर लगाई दिने भन्दै झन्डै १५ लाख रुपैयाँ ठगी गर्ने ८ जना दार्चुला प्रहरीको फन्दामा

नेपाली सेनामा जागिर लगाई दिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

ठगी आराेपमा दार्चुलाको महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, २१ वर्षीय ईश्वर महर, ४४ वर्षीय बिशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र ३८ वर्षीय रुकुम सिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलालीको गोदावरी नगरपालिका–३ का ३४ वर्षीय शंकर भुललाई पक्राउ गरिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) पाण्डेयले जानकारी दिनुभयाे । उनीहरूले सेनामा जागिर लगाई दिने भन्दै सात जनाबाट १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको पाइएकाे छ ।

पक्राउ परेका नरेन्द्रसिंह महरले आफू सेनामा जागिर खाइरहेकाे र देवीदल गण अत्तरियामा कार्यरत रहेकाे बताउँदै सेनामा जागरि लगाई दिने आश देखाएर ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएकाे छ ।

डीएसपी पाण्डेयका अनुसार उनीहरूले पीडित सात जनालाई सेनामा सिधै भर्ना गरेर तालिममा समावेश गराउने आश्वासन पनि देखाएका थिए । पक्राउ परेकाहरूको खाता नम्बर र ई–सेवामा रकम आएको पाइएकाे र उनीहरूमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आज बुधवार प्रहरीले कार्यालयमा पत्रकार सम्मेलन गर्दै ठगी गरेको आरोपमा पक्राउ परेकाहरूलाई सार्वजनिक पनि गरेकाे छ ।

प्रतिक्रिया