Wide Nepal News बिहिबार २०, बैशाख २०८१ ०९:३२

गोरखापत्रको उत्कृष्ट समाचारदाताका रुपमा सुदूरपश्चिम प्रदेशबाट जोशी पुरस्कृत

सम्बाददाता सम्बाददाता
बुधबार, साउन १७, २०८०
गोरखापत्रको उत्कृष्ट समाचारदाताका रुपमा सुदूरपश्चिम प्रदेशबाट जोशी पुरस्कृत

गोरखापत्र प्रकाशनको १२३ औं वर्ष प्रवेश तथा संस्थानको ६१ औं वार्षिकोत्सवको अवसरमा सम्मानित हुनुभएका गोरखापत्रमा कार्यरत दार्चुलाका पत्रकार लोकेन्द्रप्रसाद जोशीलाई मंगलबार (आज) पुरस्कार प्रदान गरिएको छ ।

गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी छनोट उपसमितिको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशबाट जोशीलाई उत्कृष्ट समाचारदाताको रूपमा सम्मानित गरिएको हो ।

काठमार्डौंको राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट पत्रकार तथा कर्मचारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले सम्मान गर्नुभएको थियो । उक्त कार्यक्रममा अनुपस्थित पत्रकार लोकेन्द्र जोशीलाई मंगलबार गोरखापत्र संस्थानको कार्यालयमा पुरस्कृत गरिएको हो ।

गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई (गोरखापत्र दैनिक), निमित्त सम्पादक नारदमुनि गौतम (गाेरखापत्र अनलाइन प्रकाशन) लगायतको सहभागीतामा जोशीलाई सम्मानपत्र प्रदान गरिएको हो ।

संस्थानले वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिमबाट जोशीसहित सातवटै प्रदेशबाट एक/एक जनालाई सम्मान प्रदान गरेको थियो । विगत नौँ वर्षदेखि पत्रकारितामा सक्रिय जोशी झण्डै पाँच वर्षदेखि गोरखापत्रमा कार्यरत हुनुहुन्छ । दार्चुलाबाट प्रसारण हुने रेडियो लोकदर्पणका स्टेसन म्यानेजर समेत रहनुभएका जोशी विगतमा कालापानी सिर्जनसिलता पुरस्कार, विकास पत्रकारिता पुरस्कार लगायत विभिन्न पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

प्रतिक्रिया