Wide Nepal News बिहिबार २०, बैशाख २०८१ १२:३२

पिथौरागढमा नेपाल–भारत समन्वय बैठक : दार्चुला र बैतडीका सुरक्षा अधिकारी सहभागी

सम्बाददाता सम्बाददाता
शनिबार, असार ३०, २०८०
पिथौरागढमा नेपाल–भारत समन्वय बैठक : दार्चुला र बैतडीका सुरक्षा अधिकारी सहभागी

भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढमा नेपाल–भारत समन्वय बैठक सम्पन्न भएको छ । शुक्रबार नेपालको दार्चुला र बैतडी तथा भारतको पिथौरागढ जिल्लाका सुरक्षा अधिकारी सम्मिलित बैठक सम्पन्न भएको हो । 

सीमा क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदानका लागि सीमा समन्वय बैठक आयोजना गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । बैठकले नेपाल–भारत सीमामा रहेको झुलाघाट पुल एकघण्टा अघि खोल्ने सहमति भएको छ । सहमति अनुसार झुलाघाट पुल अब बिहान ६ बजे खुल्ने र साँझ सात बजे बन्द हुने उनले बताए । 

यसअघि सीमा पुल बिहान ७ बजे खोल्ने गरिएको थियो । बिहान सात बजे पुल खोल्दा पिथौरागढ जाने नागरिकले झुलाघाटबाट बसमा यात्रा गर्न समस्या रहेको थियो । झुलाघाटबाट सात बजे छुट्ने बसमा यात्रा गर्न अब नेपाली नागरिकलाई सहज हुने प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । उनले भने ‘झुलाघाटबाट बिहान सात बजे सरकारी बस छुट्ने रहेछ । पुल पनि बिहान सात बजे खोल्दा नेपाली नागरिकहरुलाई समस्या भएको थियो । अब यो समस्याको समाधान भएको छ ।’

यस्तै विपद् उद्धार तथा प्रतिकार्यका लागि महाकाली नदीमा डुंगा सञ्चालन गर्न सकिने सहमति समेत भएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । विपद्को समयमा दुवै देशका सुरक्षा निकायहरु मिलेर उद्धार तथा अन्य कार्यमा सहकार्य गर्ने सहमति समेत भएको छ । 

बैठकमा सीमा क्षेत्रमा हुन सक्ने मानव तस्करी, वन्यजन्तु तस्करी लगायतका गैर कानुनी क्रियाकलाप रोक्नका लागि संयुक्त गस्ती गर्ने, आपसी सहयोग र सहकार्य गर्ने सहमति भएको छ । 

यस्तै महाकाली नदीलाई स्वच्छ राख्नका लागि दुवै देशका तर्फबाट पहल गरिने प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । भारतको झुलाघाट बजारको फोहर महाकाली नदीमा फाल्ने गरिएकोमा त्यसलाई व्यवस्थापन गर्ने र नेपालका तर्फबाट पनि महाकाली नदीमा फोहर हुन नदिने सहमति भएको उनले बताए । 

यस्तै झुलाघाट पुलको मर्मत सम्भारका लागि दुवै देशले प्राविधिक समिति गठन गरेर त्यसको मर्मत सम्भार गर्ने सहमति समेत भएको छ । यसैगरी झुलाघाटमा बन्ने मोटरेबल पुलको डिपीआर बनीसकेको र भारतको केन्द्र सरकारलाई पठाइसकेको बैठकमा भारतीय पक्षले जानकारी दिएको छ । 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको घोषणा गरेका थिए । त्यसपछि झुलाघाटमा ५५० मिटर लम्बाइको मोटरेबल पुल निर्माणका लागि काम अघि बढीसकेको छ । त्यो पुल निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउने बिषयमा पनि सहमति भएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । 

यस्तै बैठकमा भारतीय अधिकारीहरुले धारचुलामा पानीको अभाव भएकाले महाकाली नदीबाट लिफ्टिङ गरेर पानीको व्यवस्थापन गर्ने कुरा उठाएको र यो बिषयमा केन्द्र सरकारलाई जानकारी गराउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । 

यस्तै भारतीय मेडिकलहरुबाट लागु औषध र नसालु औषधिहरु नेपालमा विक्रि हुने गरेको गुनासो आएकाले त्यसलाई रोक्नका लागि भारतीय पक्षले पहल गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताइन् । यस्तै दार्चुलाको व्याँसमा बिजुली नभएकाले जेनेरेटर चलाउन इन्धन ल्याउन दिने बिषयमा समेत छलफल भएको छ । 

यस्तै भारतीय पेन्सनधारी नेपाली नागरिकहरुले झेलीरहेको समस्या समाधानका बिषयमा पनि बैठकमा छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी पन्थीले जानकारी दिए । यो बिषयमा भारतीय अधिकारीहरुले सम्बन्धित बैंकलाई समस्या समाधानका लागि तत्काल निर्देशन दिने प्रतिबद्धता समेत जनाएको उनले बताए । 

यस्तै नेपाली बालबालिकाहरुलाई अवैध बालश्रममा लगाइएको बिषयमा पनि बैठकमा छलफल भएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । 

बैठकमा नेपालका तर्फबाट बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही, दार्चुलाका प्रहरी प्रमुख तर्कराज पाण्डे, सशस्त्र प्रहरी बल बैतडीका प्रमुख गंगादत्त पन्त, सशस्त्र प्रहरी बल दार्चुलाका प्रमुख डम्बर बिष्ट, अनुसन्धान कार्यालय बैतडीका प्रमुख अर्चना सिंह लगायतको सहभागिता रहेको थियो । 

यस्तै भारतका तर्फबाट पिथौरागढ जिल्लाका जिल्ला अधिकारी रिना जोशी लगायतका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । 

सीमा क्षेत्रमा दुवै देशबीच आपसी सदभाव कायम गर्न र सीमाका साझा समस्या हल गर्नका लागि नियमित रुपमा बैठक बस्ने सहमति समेत भएको बताइएको छ । 

21689388799.jpg

प्रतिक्रिया