भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु खोलिने भन्दै भारतीय प्रशासनले नेपाली प्रशासनलाई पत्राचार गरी जानकारी पठाएको छ ।
एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको जलाशयमा पानीको प्रवाह दिन प्रति दिन बृद्धि भईरहेको भन्दै जुनसुकै बेला पनि बाँधका ढोकाहरु खोलिन सक्ने जानकारी पठाएको हो ।
मौसम परिवर्तन भई वर्षातका कारण नदीको जलस्तर बढेको तथा जलाशयमा पानीको मात्रा बृद्धि भईरहेका बेला बाँधका ढोकाहरु जुनसुकै बेला खोलिन सक्ने र सीमानदी महाकाली नदीमा जलस्तर बढ्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई पुर्व सतर्कता तथा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै आग्रह गरेको छ ।
जिल्लाको ब्याँस गाउँपालिकाको वडा नं ५ धौलाकोट देखि लेकम गाउँपालिकाको लाली सम्मका नदि तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरि आग्रह गरेको हो ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउन समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
दार्चुला र धारचुलाबाट करिब १८ किलोमिटर उत्तर–पश्चिममा भारतले धौलीगंगा नदीमा जलविद्युत उत्पादनका लागि बनाएको बाँधबाट २ सय ८० मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।
प्रतिक्रिया