Wide Nepal News बिहिबार २०, बैशाख २०८१ ०६:१६

बैतडीमा बाढी /पहिरोको जोखिम, के छ विपद् व्यवस्थापन समितिको पूर्व तयारी ?

सम्बाददाता सम्बाददाता
शुक्रबार, असार १५, २०८०
बैतडीमा बाढी /पहिरोको जोखिम, के छ विपद् व्यवस्थापन समितिको पूर्व तयारी ?

लगातार बर्षा हुन थालेपछि बैतडीका विभिन्न स्थानमा बाढी, पहिरोको जोखिम बढ्दै गएको छ । नदी तटीय क्षेत्रमा बाढी र भिरोलो क्षेत्रमा पहिरोको जोखिम रहेको स्थानीयहरुले बताएका छन् । 

जथाभावी खनिएका ग्रामीण सडकहरुले पछिल्लो समयमा पहिरोको जोखिम बढाउँदै लगेको छ । बिना स्टमेट खनिएका सडकले बर्षेनी धनजनको क्षति गर्ने गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले गत साल तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार आठओटा स्थानीय तहमा पहिरोको जोखिम उच्च रहेको छ । यद्यपि यो बर्ष विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्ने काम भइरहेको छ । 

बर्षातको समयमा विपदका घटना हुन सक्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पटक –पटक यो बिषयमा छलफल गरेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । उनले भने ‘हामीले सम्भावित विपद र त्यसको क्षति न्यूनीकरणका बिषयमा छलफल गर्दै आइरहेका छौं । यसका लागि आवश्यक तयारी पनि गरिरहेका छौं ।’

नदी तटीय क्षेत्रमा बाढीको जोखिम हुन सक्ने भएकाले सम्बन्धित स्थानीय तहहरुलाई यो बिषयमा सचेत गराइसकिएको सूचना अधिकारी बोहराले बताए । यस्तै पहिरोको जोखिम भएका ठाउँमा समेत सचेत रहन आग्रह गरिएको उनले बताए । 

जिल्लाको डिलाशैनी, दोगडाकेदार,सुर्नया, सिगास, मेलौली, पाटन लगायतका क्षेत्रमा पहिरोको जोखिम छ भने महाकाली, सुर्नया, जमाडी, सेती र चमेलिया नदी किनारका बस्तीहरुमा बाढीको जोखिम रहेको छ । 

स्थानीय तहहरुलाई आफूसंग भएका उद्धार सामग्री नजिकको प्रहरीलाई हस्तान्तरण गर्न भनिसकिएको सूचना अधिकारी बोहराले बताए । जिल्लामा पनि विपद्का घटना भइहालेमा उद्धारका लागि तालिमप्राप्त सुरक्षा टोली तयारी अवस्थामा राखिएको उनले बताए । 

यस्तै बर्षातको समयमा विभिन्न ठाउँमा सडक अवरुद्ध हुन सक्ने भएकाले सबै स्थानीय तहहरुलाई स्काभेटर र डोजरको व्यवस्थापन गर्न आग्रह गरिएको छ भने मुख्य राजमार्गका लागि सडक डिभिजन कार्यालयलाई व्यवस्थापन गर्न आग्रह गरिएको सूचना अधिकारी बोहराले बताए ।  

प्रतिक्रिया