Wide Nepal News बिहिबार २०, बैशाख २०८१ ०२:४१

राष्ट्रिय जनगणना–२०७८ : दार्चुलामा यस्तो रहेको छ जिल्लास्तरीय नतिजा...

Wide Nepal News
बिहिबार, जेठ ३२, २०८०
राष्ट्रिय जनगणना–२०७८  :  दार्चुलामा यस्तो रहेको छ जिल्लास्तरीय नतिजा...

तथ्यांक कार्यालयले दार्चुलामा राष्ट्रिय जनगणना–२०७८ को जिल्लास्तरीय नतिजा सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी किरण जोशीको अध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख महादेव बडूको प्रमुख आतिथ्यतामा राष्ट्रिय जनगणना–२०७८ को जिल्लास्तरीय नतिजा सार्वजनिक गरिएको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार दार्चुला जिल्लाको जनसंख्या १ लाख ३३ हजार ३१० रहेको छ, जसमध्ये पुरुषको संख्या ६४ हजार ४२४ अर्थात ४८.३ प्रतिशत र महिलाको संख्या ६८ हजार ८८६ अर्थात ५१.७ प्रतिशत छ । वि. सं. २०६८ सालमा दार्चुलाको कूल जनसंख्या १ लाख ३३ हजार २७४ थियो । यसरी हेर्दा १० वर्षको अन्तरालमा ३६ जनाले बढेको देखिएको छ । जुन सरदर वार्षिक जनसंख्या वृद्धिदर ०.०० प्रतिशत हो । 

२०७८ को जनगणनाअनुसार दार्चुलाको सबैभन्दा बढी जनसंख्या महाकाली नगरपालिकामा छ भने सबैभन्दा कम अपिहिमाल गाउँपालिकामा रहेको छ । महाकाली नगरपालिकामा २४ हजार ८१ र अपिहिमाल गाउँपालिकामा ६ हजार ७९८ जनसंख्या छ ।
 
यस्तै शैल्यशिखर नगरपालिकाको जनसंख्या २१ हजार ८०७, मालिकार्जुन गाउँपालिकाको १५ हजार ६३५, नौगाड गाउँपालिकामा १५ हजार ५२८, मार्मा गाउँपालिकामा १५ हजार १२४, लेकम गाउँपालिकामा १३ हजार ७४३, दुहुँ गाउँपालिकामा ९ हजार ८ सय ४२ र व्याँस गाउँपालिकामा ९ हजार ६६८ जनसंख्या रहेको छ ।

यस्तै दार्चुलाको जनघनत्व ५७ जना प्रतिवर्ग किलोमिटर रहेको छ । जुन २०६८ सालमा पनि ५७ नै थियो । यस्तै जिल्लामा २८ हजार ४१७ परिवार संख्या रहेको छ । जनसंख्या कम हुनुमा बसाइसराई मूख्य रहेको बताइएको छ । 

यस्तै जिल्लाको सारक्षता प्रतिशत ८७.३ रहेको छ । धर्म अनुसार हिन्दुधर्म मान्ने जनसंख्या १ लाख ३३ हजार ६, बौद्ध धर्म १३७, इस्लाम ३५, किराँत ३, क्रिश्चियन १२७, बहाई २ रहेको छ । तथ्यांक कार्यालय दार्चुलाका तथ्यांक अधिकृत शंकर भट्टले जिल्लाको जनसंख्या विवरण सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया