Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ०४:३६

टिंकर भञ्ज्याङमा व्यास गाउँपालिकाको बैठक, टिंकर-ताक्लाकोट नाका खोल्न राज्यको ध्यानाकर्षण

सम्बाददाता सम्बाददाता
शनिबार, जेठ २७, २०८०
टिंकर भञ्ज्याङमा व्यास गाउँपालिकाको बैठक, टिंकर-ताक्लाकोट नाका खोल्न राज्यको ध्यानाकर्षण

त्रीदेशीय सीमानाका जोडिएको दार्चुलाको व्याँस गाउँपालिकाको २० औं गाउँकार्यपालिका बैठक शुक्रबार (हिजो) टिंकरमा सम्पन्न भएको छ । 

व्याँस गाउँपालिका १ स्थित टिंकर-ताक्लाकोट नाका तत्काल सञ्चालनमा ल्याउन तथा टिंकरसम्म सडक सञ्जाल छिटो खुलाउन राज्यको ध्यानाकर्षण गराउने उद्धेश्यले अन्तर्राष्ट्रिय सीमा नजिकैको दुर्गम गाउँ टिंकरमा गाउँकार्यपालिकाको बैठक आयोजना गरिएको व्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले जानकारी दिए । 

चीनिया पक्ष टिंकर नाका खोल्नका लागि सकारात्मक भएपनि नेपाल सरकार यस विषयमा संवेदनशील नदेखिएको गाउँपालिका अध्यक्ष धामीको गुनासो छ ।  ताक्लाकोट नाका सञ्चालनमा ल्याउन  सरकारलाई पटकपटक आग्रह गर्दा समेत कुनै चासो नदिएकोले दबाबस्वरुप गाउँपालिको टिमले टिंकरमा बैठक बसेको उनले बताए । 

"नेपाल-चीन सीमा नाका बन्द छ, छाङरू र टिंकरवासीले आफ्नै गाउँ जान भारतीय बाटो प्रयोग गर्नुपर्छ ", अध्यक्ष धामीले भने, "कैलाश पर्वत हिन्दूको महत्वपूर्ण तीर्थस्थल हो, जहाँ प्रत्येक वर्ष लाखौं भक्तजनले दर्शन गर्छन्, गाउँ जाने बाटो र नाका खुले यहाँका स्थानीयलाई सहज हुन्छ ।"

गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, उपाध्यक्ष विनोद कुवँर, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम सहित कार्यपालिका सदस्यहरू बैठकका लागि टिंकर पुगेका थिए ।  व्याँसको छाङरू र टिंकर गाउँ अतिक्रमित सीमा क्षेत्र नजिकका बस्ती हुन् । यहाँ स्थानीयसंगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति छ । यहाँ राष्ट्रिय सीमा स्तम्भ पनि निर्माण गरिएको छ ।

प्रतिक्रिया