Wide Nepal News शुक्रबार ०७, बैशाख २०८१ ०३:४१

दोहोरो नागरिकता लिएको भन्ने आरोप आधारहिन, दुराशयपूर्ण र प्रायोजित: बडू

युवराज सफललाई कारबाही गर्न माग
सम्बाददाता सम्बाददाता
बुधबार, बैशाख ०६, २०८०
दोहोरो नागरिकता लिएको भन्ने आरोप आधारहिन, दुराशयपूर्ण र प्रायोजित: बडू

पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडूले आफ्नो दोहोरो नागरिकता नरहेको प्रस्ट पारेका छन्।

उनले उजुरीकर्तालाई हदैसम्मको कारबाही गर्न पनि माग गरेका छन्। नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेलले पूर्वमन्त्रीसहित १२ जनाले दोहोरो नागरिकता लिएको भनेर बडूको समेत नाम राखेर गृह मन्त्रालयमा उजुरी दिएको समाचार प्रकाशित भएको थियो।

आफ्नो नामसमेत जोडेर परेको उजुरीका आधारमा सम्प्रेषित समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै बडूले प्रतिनिधिसभाको शून्य समयमा भने, ‘मेरो सन्दर्भमा यस्तो गम्भीर आरोप लगाएर पूर्णतः झुटा, आधारहीन र दुराशयपूर्ण प्रायोजित समाचारप्रति गहिरो दुःख र खेद व्यक्त गर्दछु। विरोध जनाउँदछु र घोर भर्त्सना गर्दछु। ममाथि लगाइएको उक्त आरोप पुष्टि गर्न ठाडो चुनौती दिन चाहन्छु।’

दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य बडूले बडूले तथ्यहीन आरोप लगाउने उजुरीकर्ता पौडेललाई कारबाही गर्न माग गरेका छन्। ‘सम्प्रेषित समाचारले म एउटा जिम्मेवार नागरिकको प्रतिष्ठामा गम्भीर चोट पुर्‍याएको छ भने मैले पटकपटक आफ्नो सार्वभौम राष्ट्रको मन्त्री पदका जिम्मेवारी निभाइसकेको सन्दर्भमा मेरो देशको स्वाभिमानमाथि समेत अपूरणीय क्षति पुर्‍याउन सक्ने भएकाले यस्ता तथ्यहीन व्यहोराका उजुरीकर्ता र सत्यतथ्य खोजी नगरी स्थापित आचारसंहिताविपरीत दुराशयपूर्ण तथ्यहीन समाचार सम्प्रेषणकर्ताहरूमाथि यथाशीघ्र छानबिन गरी हदैसम्मको कानुनी कारबाही गरी पाउन र सत्यतथ्य संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण चाहन्छु,’ उनले भने।

उजुरीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बडूसहित राजेन्द्र महतो, सरिता गिरी, सुजता कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गङ्गा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कँडेल, डा.स्वर्णिम वाग्ले र डा. मिनेन्द्र रिजालको दोहोरो नागरिकता रहेको उजुरीमा दाबी गरिएको थियो । 

प्रतिक्रिया