Wide Nepal News शुक्रबार ०७, बैशाख २०८१ ०१:०९

बाढीजन्य विपदमा उद्धारका लागि चमेलिया नदीमा खोज तथा उद्धार अभ्यास

सम्बाददाता सम्बाददाता
बुधबार, चैत ०८, २०७९
बाढीजन्य विपदमा उद्धारका लागि चमेलिया नदीमा खोज तथा उद्धार अभ्यास

बैतडीमा बाढीजन्य उद्धारका लागि खोज तथा उद्धार अभ्यास गरिएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–६ शेरास्थित चमेलिया नदीमा खोज तथा उद्धार अभ्यास गरिएको हो।  

बाढीजन्य विपद्मा उद्धारका लागि पहिलोपटक उपलब्ध भएको  ‘रबरबोट’ लाई परीक्षण गर्नका लागि अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। तटीय क्षेत्रमा हुने विपद्जन्य घटनाको समुचित व्यवस्थापनमा सहयोग पु–याउने उद्देश्यसहित गृह मन्त्रालयको समन्वय तथा विश्व खाद्य कार्यक्रमअन्तर्गत मानवीय सहायतास्थलको सहयोगमा जिल्ला प्रशासन कार्यालयलाई गत फागुनमा ‘रबरबोट’ प्राप्त भएको थियो।

बाढीजन्य तथा अन्य विपद्ले पौडी खेल्न नजानेर डुबेर हुने घटनामा उद्धार गर्न अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। रबरबोट परीक्षण गरी आगामी दिनमा तटीय क्षेत्रमा हुने विपद्जन्य घटनामा उद्धारका लागि सहयोग पु–याउने उद्देश्यले अभ्यास गरिएको उनले बताए।

प्रदेशबाट आएको सशस्त्र प्रहरी बलको तालिमप्राप्त टोलीले चमेलियामा खोज तथा उद्धार अभ्यास गरेको हो। अभ्यासमा दशरथचन्द नगरपालिकाका प्रतिनिधि, रेडक्रस, जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीयलगायतको उपस्थिति थियो। यसका साथै जिल्ला प्रशासनलाई उपलब्ध भएको रबरबोट परीक्षणपश्चात झुलाघाटस्थित सशस्त्र प्रहरीको बिओपीलाई हस्तान्तरण गरिएको छ।

झुलाघाटमा रहेको सशस्त्र प्रहरीको गोताखोरको टोलीले प्रदेशबाट आएको सशस्त्र प्रहरीको तालिमप्राप्त टोलीले महाकालीमा खोज तथा उद्धारको तालिम लिनेछ। त्यसपछि उक्त गोताखोरको टोलीनै विपद्को बेला उद्धारमा खटिनेछ। 

प्रतिक्रिया