Wide Nepal News बिहिबार १३, बैशाख २०८१ ०३:५४

सुदूरपश्चिम प्रदेशमा एमाले पर्ख र हेरको रणनीतिमा

सम्बाददाता सम्बाददाता
शुक्रबार, फागुन १९, २०७९
सुदूरपश्चिम प्रदेशमा एमाले पर्ख र हेरको रणनीतिमा

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले पर्ख र हेरको रणनीति अख्तियार गर्ने भएको छ। एक महिना प्रदेश सरकारको नेतृत्व गरेर प्रमुख प्रतिपक्षीमा पुगेको एमालेले परिस्थितिले कोल्टे फेर्न सक्ने दाबी गरेको छ।

गठबन्धनमा धोखा पाए पनि नेकपा एमाले अहिले जनताको माझ र जनताको साथमा रहेको तर्क गरिरहेको छ। जनताका माग र मुद्दा  संसदमा जोडदार रुपमा उठाउने भूमिकामा खरो उत्रिने नेकपा एमालेको अबको रणनीति रहेको छ।

प्रदेश सभामा १० जना सदस्य रहेको नेकपा एमाले पर्ख र हेरको रणनीतिमा रहेको पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बताए। एक महिना प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएका रावलले परिस्थिति जुनसुकै बेला बदलिन सक्ने बताएका छन्। उनले भने, ुपहिले मुख्यमन्त्रीमा साथ दिन्छौँ भनेका दलहरूले नै विश्वासको मत नदिएर हामीले सत्ता छोडनु परेका हो, अहिले पनि पहिलेको जस्तै परिस्थिति आउन सक्छ।

सुदूरपश्चिममा एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्तिका ७ र एक जना राप्रपाका प्रदेश सभा सदस्यको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नागरिक उन्मुक्तिले विश्वासको मत नदिएपछि उनले पदबाट राजीनामा दिएका थिए।

अहिले प्रदेशमा ठुलो दलको हैसियतले काँग्रेसले सरकारको नेतृत्व गरिरहेको छ। तर पनि देशको राजनीतिक परिस्थिति जस्तोसुकै हुनसक्ने नेकपा एमालेको ठम्याइ छ। जनताको काम गर्न चुनावबाट अनुमोदित भएर आएकाले सत्तामा हुनु र नहुनुले ठूलो अर्थ नराख्ने तर्क पूर्व मुख्यमन्त्री रावलको छ।

'एक माघले जाडो जाँदैन, हामी आफ्नो भूमिकामा स्पष्ट छौँ,' उनले भने, 'राजनीतिमा आज जे छ त्यो भोलि नहुन सक्छ।'

राष्ट्रपति चुनावसम्म परिस्थिति बेग्लै विकास हुन सक्ने बुझाइ एमालेको छ। अहिले बनेको राजनीति परिस्थिति पाँच वर्ष सम्म जाने कुनै ग्यारेन्टी नभएकाले राजनीतिक धरातलमा नेकपा एमाले खरो भएर उत्रने दाबी प्रदेश संसदीय दलका नेतासमेत रहेका रावलको छ। प्रदेश सभामा प्रमुख प्रतिपक्षी भएर जनताको विश्वास र भरोसा जित्ने काम गर्न पार्टी प्रतिवद्ध रहेको उनले बताएका छन्।

नेकपा एमालेले अहिले मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरेर जनताको घरदैलोमा पुगेको दाबी गरिएको छ। एमाले उत्तिकै जोश र जिम्मेवारीका साथ संसदमा प्रस्तुत भएर जनताका इच्छा  र चाहना पूरा गर्न प्रतिवद्ध रहेको दाबी गरिएको छ।

प्रतिक्रिया