Wide Nepal News बिहिबार ०६, बैशाख २०८१ ११:५१

छड्के २ र छक्का पञ्जा ४ आज एकसाथ रिलज हुने

सम्बाददाता सम्बाददाता
शुक्रबार, फागुन १९, २०७९
छड्के २ र छक्का पञ्जा ४ आज एकसाथ रिलज हुने

आज शुक्रबार नेपाली फिल्म क्षेत्र र दर्शकले प्रतीक्षा गरेको दुई फिल्म छड्के २ र छक्का पञ्जा ४ एकसाथ रिलज हुने भएका छन्। निगम श्रेष्ठद्वारा लिखित तथा निदेर्शित फिल्म छड्के २ मा तीन ग्याङको लडाईंको कथा बनाइएको छ। ती ग्याङले मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट धन आर्जन गर्न गरेको संघर्षको कथा यसमा छ।

फिल्ममा अनमोल केसी मुख्य भूमिकामा छन् भने उनीसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवि अधिकारी, कुमार घलानलगायतका कलाकारले अभिनय गरेका छन्।

 निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स् र मेधा प्रोडक्सनको ब्यानरमा प्रशान्त गिरी र देवकुमार श्रेष्ठद्वारा निर्मित फिल्ममा राजकुमार उप्रेतीको एक्सन, रवि चौधरी मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ। फिल्ममा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले कार्यकारी निर्माता रहेका छन्।

 त्यसैगरी, समसामयिक राजनीतिप्रति व्यंग्य गर्दै गुन्डागर्दी, वैदेशिक रोजगारजस्ता विविध विषय उठाइएको छक्का पञ्जा ४ हेमराज बिसीले निर्देशन गरेका छन्। फिल्ममा दीपकराज गिरी राजा पात्रको भूमिकामा दोहोरिएका छन् भने बेनिशा हमाल पत्रकार र दीपाश्री निरौला दीपकराजको पत्नीको भूमिकामा छन्।

फिल्ममा नीर शाह, केदार घिमिरे, बुद्धि तामाङ, रमेश बढाथोकी, निर्मल शर्मा, सविन बास्तोला, अनुरागमान सिंह कँवर, मलिना जोशी, विष्णु सापकोटा, राज आचार्य, सुष्मा निरौला, मलिना जोशी, वेदना राई, लुनिभा तुलाधरलगायतले पनि अभिनय गरेका छन्।

प्रतिक्रिया