Wide Nepal News शुक्रबार १६, चैत २०८० ०४:४१

अभिनेता पल शाह आज रिहा हुँदै

सम्बाददाता सम्बाददाता
सोमबार, फागुन १५, २०७९
अभिनेता पल शाह आज रिहा हुँदै

 बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुँदैछन् ।

पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले सोमबार (आज) रिहा हुने जानकारी दिए । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।

एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।

उनलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपरासी (नवलपुर) जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यसविरुद्ध शाहले पुनरावेदन दिएका थिए ।

आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएकाले शाह सोमबार रिहा हुन लागेका हुन् । दाङ स्थायी ठेगाना भएका शाह रिहा भएपछि काठमाडौं आउने स्रोतले बतायो ।

प्रतिक्रिया