Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०४:३४

सुदूरपश्चिम विश्वविद्यालयका केन्द्रीयसहित १५ आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी

सम्बाददाता सम्बाददाता
शुक्रबार, फागुन १२, २०७९
सुदूरपश्चिम विश्वविद्यालयका केन्द्रीयसहित १५ आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी

सुदूरपश्चिम विश्वविद्यालयले आगामी चैत ८ मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले केन्द्रीय क्याम्पससहित सबै आंगिक क्याम्पसमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको हो ।

वि.सं. २०६६ सालमा विश्वविद्यालय स्थापनापछि पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो । केन्द्रीय क्याम्पससहित १५ आंगिक क्याम्पसमा निर्वाचन हुने विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले बताए ।

विश्वविद्यालयको कार्यकारी परिषद्ले सोमबार स्ववियु निर्वाचनको निर्णय गरेको हो । त्यसअघि विद्यार्थी संगठनहरूसँग पनि छलफल गरेको थियो । विद्यार्थी संगठनहरूले पनि स्ववियु निर्वाचनको माग गर्दै आएका थिए । पाठकले विद्यार्थी संगठनहरूसँग छलफलपछि निर्वाचनको मिति घोषणा गरिएको बताए ।

तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा परिणत गरेर पठनपाठन सुरु भएको थियो । त्यसपछि प्रदेशका अन्य क्याम्पसहरूलाई पनि आंगिकता प्रदान गरिएको थियो । यद्यपि आंगिक बनाउने विषयमा भने विवाद कायमै छ । प्राध्यापकदेखि कर्मचारी समायोजनमा विवाद छ । 

स्ववियु निर्वाचन घोषणा भएपछि विद्यार्थी संगठनहरूले स्वागत गरेका छन् । विश्वविद्यालयमा हाल १७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया