Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०५:३३

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

सम्बाददाता सम्बाददाता
शुक्रबार, माघ २७, २०७९
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

सत्ता गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्‍ने भएको छ।

शुक्रबार बिहान ९ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए।

संयन्त्रको बैठक बिहीबारका लागि बोलाइएको थियो। प्रधानमन्त्री दाहाल र संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार अपरान्ह सिंहदरबारमा भेटवार्ता भएपछि संयन्त्र बैठक आज बिहानका लागि सारिएको थियो।

उक्त बैठक सकेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले संयन्त्र बैठक शुक्रबार बिहान बस्ने बताएका थिए।

रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको, सुदूरपश्चिममा सत्ता गठबन्धन समर्थनमा बनेको नेकपा एमाले नेतृत्वको सरकार ढलेकोजस्ता बदलिएको राजनीतिक परिस्थितिका बीच उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बोलाइएको छ।

यसैबीच राष्ट्रपति निर्वाचनका सन्दर्भमा पनि आज छलफल हुन सक्ने देखिएको छ। फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचन मिति तोकिएको छ। प्रधानमन्त्री दाहाल र उनी अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताइरहेका छन्।

तर सत्ता साझेदार दल नेकपा एमालेले गत पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूहरूले पाउनुपर्ने दाबी गरिरहेको छ। तर पुस २६ मा प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो। यो परिस्थितिसँगै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने तर्क माओवादीले गर्दै आएको छ।

उच्चस्तरीय राजनीतिक संयन्त्रमा सत्ता गठबन्धनका सात दलका शीर्ष नेता छन्।

प्रतिक्रिया