Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:३३

सुदूरपश्चिममा साढे दुई महिनाको अवधिमा दुई ठुला भूकम्प

सम्बाददाता सम्बाददाता
बिहिबार, माघ १२, २०७९
सुदूरपश्चिममा साढे दुई महिनाको अवधिमा दुई ठुला भूकम्प

सुदूरपश्चिममा साढे दुई महिनामा दुई ठुला भूकम्प गएका छन्। भूकम्पका कारण प्रदेशमा सात जनाको मृत्यु भएसँगै दर्जनौ भौतिक संरचनामा क्षति भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीको तथ्याङ्कले देखाएको छ। 

मंगलवार बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ।

यस्तै, डोटीको खप्तड क्षेत्र केन्द्र बिन्दु बनाएर गत कार्तिक २२ गते मध्यराति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्नीच्यूडको भूकम्प गएको थियो। त्यसमा परी उक्त गाउँका ६ जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका थिए।

उक्त भूकम्पमा परी आठ घर पूर्ण ध्वस्त भएका थिए भने दर्जर्नौँ घरमा क्षति पुगेको थियो। कात्तिकमा २२ मा आएको भूकम्पमा  डोटीमा एक हजार चार सय १२ घरमा क्षति भएको थियो। 

यस्तै, माघ १० गते बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भूकम्पका कारण बाजुरा, बझाङ, डोटी र अछामका विभिन्न स्थानमा क्षति पुगेको छ। भूकम्पका कारण बाजुराका विभिन्न स्थानीय तहका ४८ घरमा पूर्ण क्षति, ११४ घरमा आंशिक र १३ ओटा सरकारी भवनहरुमा क्षति भएको छ। 

यसैगरी बझाङको विभिन्न स्थानीय तहका ५७ घरमा र ८ सरकारी भवन तथा  अछामको मंगलसेन नगरपालिकामा ३ वटा घर र १ सरकारी भवनमा क्षति पुगेको छ। मंगलवार आएको भूकम्पमा डोटीको दिपायल सिलगढी नगरपालिकामा ३ घरमा क्षति भएको प्रहरीको विवरणमा उल्लेख गरिएको छ। बाजुरा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण अहिले सम्म एक जनाको मृत्यु भएसँगै ४ जना घाइते भएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया