Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:३५

डिलासैनी स्वास्थ्य चौकीमा अत्याधुनिक उपकरण सहितको प्रयोगशाला सञ्चालन

सम्बाददाता सम्बाददाता
बिहिबार, माघ ०५, २०७९
डिलासैनी स्वास्थ्य चौकीमा अत्याधुनिक उपकरण सहितको प्रयोगशाला सञ्चालन

डिलासैनी स्वास्थ्य चौकीमा अत्याधुनिक स्वास्थ्य उपकरण सहितको प्रयोगशाला (ल्याब) सञ्चालनमा आएको छ । डिलासैनी गाउँपालिका ७ धामीगाउँमा रहेको स्वास्थ्य चौकीबाट सेवाग्राहीलाई सहजै स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले स्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो । 

हाल स्वास्थ्य चौकीमा वरिष्ठ मेडिकल ल्याब टेक्नोलोजिष्ट श्यामराज जोशीले उपकरणहरु जडान र गुणस्तर परीक्षणको काम गरिरहेका तथा परिक्षणको काम सकेपछि सञ्चालनमा ल्याइने डिलासैनी गाउँपालिकाले जनाएको छ । 

दुर्गममा रहेको डिलासैनी स्वास्थ्य चौकीबाट सेवाग्राहीलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले स्वास्थ्य प्रयोगशालामा कल्टर काउन्टर, बायोकेमेस्टी सेमी अटोएनालाइजर लगायतका उपकरण जडान गरिएको डिलासैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । 

उक्त प्रयोगशाला सञ्चालनमा आएपछि स्वास्थ्य चौकीबाट पिसाब जाँच, खकारबाट टिबीको परीक्षण, बाथरोग सम्बन्धि जाँच, जण्डिस जाँच, बीर्य परीक्षण, कलेजो सम्बन्धी जाँच, किडनी सम्बन्धि जाँच, रगतमा गरिने रक्त कोषहरुको सम्पूर्ण जाँच गरिने बताइएको छ । 

हाल डिलासैनी स्वास्थ्य चौकीमा डाक्टर प्रदीप गुरुङ सहित अन्य स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका तथा चाडैँ उक्त स्वास्थ्य चौकीको क्षमता अभिवृद्धी गरि अस्पतालमा स्तरोन्नती गर्न पूर्वाधार निर्माण गर्ने लगायतका तयारी भइरहेको प्रवक्ता भट्टले बताए । 

गाउँपालिकामा १० शैयाको अस्पताल बन्नु भन्दा अगाडि नै अस्पतालले दिने सेवा सुरु गरेको वडा नं. ७ का अध्यक्ष प्रकाशमणी भट्टले बताए । 

स्थानीयलाई सहज ढंगबाट गाउँपालिका भित्रै स्वास्थ्य सेवाको पहुँचमा ल्याउन गाउँपालिकाले पूर्वाधार निर्माण, आवस्यक जनशक्ती व्यवस्थापन, स्वास्थ्य सामग्री तथा उपकरणको उपलब्धता र ल्याब सञ्चालनमा ल्याउने लगायतका कार्य भइरहेको डिलासैनी गाउँपालिकाले जनाएको छ । 

जिल्ला सदरमुकामपछि दोस्रो गुणस्तरीय ल्याब डिलाशैनीमा स्थापना हुन लागेको जिल्ला अस्पतालका ल्याब प्रमुख चन्द्र डोबालले बताए।  

डिलाशैनी गाउँपालिकाले यसअघि नै मेडिकल अधिकृत भर्ना गरेर सेवा दिन सुरु गरेको छ। पालिकामा एक्स रे तथा कलर अल्ट्रासाउण्ड सेवा समेत सुरु हुन लागेको पालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए। 

७५ लाखको लागतमा खरिद भएका उपकरणहरु पालिकामा विद्युत सेवा नपुगेकाले केही ढिला भएपनि छिट्टै उक्त सेवा सुरु हुने उनले बताए। 

यस्तै पालिकाले यसअघि नै दीर्घरोगीहरुलाई निःशुल्क औषधी वितरण गरिरहेको छ। पालिका भित्रका सबै विद्यालयहरुमा अनमी र अहेबमार्फत आधारभुत स्वास्थ्य सेवा दिनका लागि समेत तयारी अन्तिम चरणमा पुगेको उनले बताए। सुपथ मूल्यमा औषधी उपलब्ध गराउन साँझा औषधी पसल सञ्चालनको समेत तयारी भइरहेको अध्यक्ष जोशीले बताए।

प्रतिक्रिया