शैल्यशिखर नगरपालिकास्थित वडा नम्बर ८ मा एक समारोहका बिच शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । शैल्यशिखरका नगरप्रमुख विजयसिंह धामीले बुधबार नगरपालिकाको वडा नम्बर ८, रिम्बाटास्थित रिम्बाटा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष केशबदत्त जोशीको अध्यक्षतामा आयोजित रिम्बाटा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा नगरप्रमुख विजयसिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।
आर्थिक वर्ष २०७६/०७७ मा निर्माण भएको रिम्बाटा सहरी स्वास्थ्य केन्द्र हालसम्म सञ्चालनमा आउन सकेको थिएन । उद्घाटन भएसंगै बुधबारदेखि सेवा सञ्चालनमा आएको शैल्यशिखर नगरपालिकाका स्वास्थ्य संयोजक शिवदत्त जोशीले जानकारी दिए ।
बोहोरीगाउँ स्वास्थ्य चौकी अन्तरगत सञ्चालित उक्त स्वास्थ्य केन्द्रमा अहेब बिस्ना जोशीलाई खटाइएको बोहोरीगाउँ स्वास्थ्य चौकी प्रमुख कृष्णानन्द पन्तले जानकारी दिए । ढिलै भएपनि गाउँमा स्वास्थ्य केन्द्र सञ्चालन भएपछि खुसी लागेको स्थानीयले व्यक्त गरेका छन् । स्वास्थ्य केन्द्रबाट तत्काल आधारभुत स्वास्थ्य र परिवार नियोजन सेवा सञ्चालन हुने बताइएको छ ।
स्वास्थ्य केन्द्रका लागि संरचना निर्माणको काम ४ वर्षअघि नै भएपनि सञ्चालनका लागि तत्कालिन स्थानीय सरकारले थप चासो नदिदाँ स्वास्थ्य केन्द्र सञ्चालनको काम अलपत्र परेको स्थानीयहरुले बताए । नगरपालिकामा नयाँ सरकार आएपछि गाउँमा स्वास्थ्य केन्द्र सञ्चालन भएको तथा सामान्य स्वास्थ्य सेवा गाउँमै उपलब्ध हुन लागेको भन्दै नगरप्रमुख धामी लगायतको टिमलाई स्थानीयले धन्यवाद दिएका छन् ।
स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगरप्रमुख विजयसिंह धामीले जनताले अब गाउँमै स्वास्थ्य सेवा पाउने र नगरपालिकाबाट स्वास्थ्य केन्द्रलाई आवश्यक औषधी र स्वास्थ्य सामाग्री सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यसैबिच शैल्यशिखर नगरपालिकामा स्वास्थ्य संस्थाको संख्या २० पुगेको छ । गोकुलेश्वर अस्पताल, पाँच वटा स्थाथ्य चौकी, आठ वटा सामुदायिक स्वास्थ्य इकाइ, तीन वटा शहरी स्वास्थ्य केन्द्र र तीन वटा सामुदायिक स्वास्थ्य केन्द्र गरी २० वटा स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेका छन् ।
शहरी स्वास्थ्य केन्द्रको उद्घाटन समारेहमा वडा नम्बर ८ का वडा सदस्य केशबदत्त ओझा, पूर्व वडाअध्यक्ष अजबसिंह बिष्ट लगायत स्थानीयको सहभागिता रहेको थियो ।
प्रतिक्रिया