Wide Nepal News शनिबार ०८, मङि्सर २०८१ ०१:५२

भारतले महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध निर्माण थालेपछि प्रदर्शन, चार नेपाली घाइते

सम्बाददाता सम्बाददाता
आइतबार, मङि्सर १८, २०७९
भारतले महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध निर्माण थालेपछि प्रदर्शन, चार नेपाली घाइते

दार्चुलामा नेपाल–भारत जोड्ने सीमा नाकामा तनाव सृजना भएको छ । भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोध गरेका नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुङ्गा प्रहार भएपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

विवाद बढ्दै गएपछि नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलमा आवतजावतसमेत बन्द गरिएको छ । नेपाल र भारतका स्थानीयले ढुङ्गा हानाहान गरेका र केही व्यक्ति घाइते भएका प्रहरीले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

अहिले अवस्था बुझ्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेय सीमा क्षेत्रमा जानुभएकाे प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका छन् ।

भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भए छन् ।

स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया