Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०५:५६

दार्चुलामा १२ जना उम्मेदवारको जमानत जफत, मतदाता शिक्षा प्रभावकारी नहुँदा १० हजार मत बदर

सम्बाददाता सम्बाददाता
बुधबार, मङि्सर १४, २०७९
दार्चुलामा १२ जना उम्मेदवारको जमानत जफत, मतदाता शिक्षा प्रभावकारी नहुँदा १० हजार मत बदर

दार्चुलामा प्रत्यक्ष र सामानुपातिकतर्फका गरी १० हजार २३ मत अर्थात् कूल खसेको मतको झण्डै १७ प्रतिशत मत बदर भएको छ । बदर भएको छ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक हजार ९४० मत बदर भएको हो। प्रतिनिधिसभा प्रत्यक्षमा ५७ हजार ६६३ मत खसेकोमा एक हजार ९४० मत बदर र ५५ हजार ७२३ मत सदर भएको छ। 

प्रदेशसभा क्षेत्र नम्बर १ मा ३१ हजार ५४२ मत खसेकोमा ३० हजार ४०८ मत सदर र एक हजार १३४ मत बदर भएका छन् । यस्तै, प्रदेशसभा क्षेत्र नम्बर २ मा २६ हजार २७२ मत खसेकोमा २५ हजार ५१७ मत सदर र ७५५ मत बदर भएका छन्। दार्चुलामा ८९ हजार १५४ मतदाता रहेकोमा प्रत्यक्षतर्फ ६५ प्रतिशत मत खसेको थियो।

प्रत्यक्षभन्दा समानुपातिक निर्वाचन प्रणालीमा मत बदर बढी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रतिनिधिसभा समानुपातिकमा खसेको कुल मत ५८ हजार ९९१ मध्ये ५६ हजार ५२२ मत सदर र दुई हजार ४६९ मत बदर भएको छ। प्रदेशसभा सामानुपातिकतर्फ कुल खसेको ५८ हजार ८६० मतमध्ये ५५ हजार १३५ मत सदर र तीन हजार ७२५ मत बदर भएको छ। 

निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा बदर मत बढेको उम्मेदवारहरूको गुनासो छ। निर्वाचन आयोगको उदासीनता र उम्मेदवार तथा राजनीतिक दलहरुले समेत मतदाता शिक्षामा ध्यान नदिएका कारण बदर मतको सङ्ख्या बढेको पाइएको छ।

१२ जना उम्मेदवारको जमानत जफत

दार्चुलामा प्रतिनिधिसभा निर्वाचन लडेका सात र प्रदेशसभामा लडेका पाँच गरी १२ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिषत मत पनि पुगाउन नसकेपछि उनिहरुको जमानत जफत भएको हो ।

लोकतान्त्रिक बाम गठबन्धन र नेकपा एमालेका उम्मेदवारवाहेक सबैको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिए। 

प्रतिनिधि सभा सदस्यका उम्मेदवारले उम्मेदवारीको क्रममा १० हजार रुपियाँ धरौटी राखेका थिए । सो धरौटी जोगाउनका लागि उम्मेदवारले सदर मतको १० प्रतिशत भोट प्राप्त गर्नुपर्ने थियो तर प्रतिनिधिसभामा लडेका नौमध्ये सात जनाले १० प्रतिशत भोट कटाउन नसकेपछि उनीहरूको धरौटी जफत भएको हो ।

१२ उम्मेदवारले बुझाए खर्च विवरण

दार्चुलामा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन लडेका १८ मध्ये हालसम्म १२ जनाले आफ्नो चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालय दार्चुलामा पेस गरेका छन् । मंसिर ४ गते आइतबार सम्पन्न भएको निर्वाचनको खर्च विबरण बुझाउन निर्वाचन आयोगले आइतबार राजनितिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई निर्देशन दिएपछि दार्चुलामा पनि राजनितिक दल तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी खर्च विबरण बुझाउन थालेका हुन् ।

निर्वाचन कार्यालय दार्चुलाले आइतबार एक सुचना जारी गदैँ ३५ दिन भित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएपछि उम्मेदवारहरु चुनावमा भएको खर्च विबरण बुझाइरहेका हुन् । हालसम्म गठबन्धन, एमाले लगायत केही राजनीतिक दलका उम्मेदवार र प्रदेशसभा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार शंकरसिंह धामीले निर्वाचनमा भएको खर्च विवरण बुझाएका हुन् ।

चुनावी खर्चस्वरुप शुभेच्छुकहरु बाट १ लाख १५ हजार ६५७ रकम सहयोग प्राप्त भएको र उम्मेदवार स्वयंमले ७३ हजार १४१ रुपैया खर्च गरेको गरी कुल एक लाख ८८ हजार ७९८ रुपियाँ चुनावी खर्च भएको उम्मेदवार धामीले बताए ।

प्रतिक्रिया