Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०६:१५

एक दशक लामो 'ग्याप'पछि विजयसुन्दर पुन: चुनावी मैदानमा, ह्याट्रिक जित निकाल्ने दाउमा भण्डारी

सम्बाददाता सम्बाददाता
शुक्रबार, कार्तिक २५, २०७९
एक दशक लामो 'ग्याप'पछि विजयसुन्दर पुन: चुनावी मैदानमा, ह्याट्रिक जित निकाल्ने दाउमा भण्डारी

संसदीय निर्वाचन आन अब जम्मा ९ दिन बाँकी रहेको छ । आगामी मंसिर ४ मा देशभर एकैसाथ हुने निर्वाचनको मिति नजिकिएसंगै बैतडीमा चुनावी रौनक बढेको छ । प्रतिनिधिसभामा एक तथा प्रदेश सभामा दुइवटा निर्वाचन क्षेत्र रहेको बैतडीमा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्र चुनावी दौडमा छ । यसपटक नेकपा एमाले भने एक्लै चुनावी प्रतिस्पर्धामा सहभागि भएको छ।

सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) र एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी चुनावी मैदानमा उत्रिएका छन् । एमालेका भण्डारी वि.सं.२०७० को दोस्रो संविधानसभा सदस्य र २०७४ को प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । भण्डारी २०७० मा माओवादीका कुँवर र नेपाली कांग्रेसका नरबहादुर चन्दलाई पराजित गर्दै संविधानसभा सदस्यमा विजयी भएका थिए ।

२०७४ को प्रतिनिधिसभा चुनावमा भने माओवादीका कुँवरको सहयोगमा भण्डारी विजयी भए । माओवादी केन्द्रका कुँवर भने २०६४ यता संसदमा पुग्न सकेका छैनन् । यसपालि कुँवर कांग्रेसलगायत दलको सहयोगमा भण्डारीलाई पराजित गरेर संसद भवन छिर्ने दाउमा छन् । 

चुनावी घरदैलोका क्रममा बैतडीका जनता यसअघिको नेतृत्वबाट निराश रहेको तथा उनीहरुबाट आफूले पाएको उत्साहले आफ्नो जीत सुनिश्चित रहेकोमा माओवादी केन्द्रका उम्मेदवार कुवँर आशावादी देखिन्छन् । जिल्लामा गठबन्धनको साथ पाएर निर्वाचनमा होमिएका कुवँर यसपटक आफ्नो एक दशक लामो संसद 'ग्याप' पुन सुचारु हुने दाबी गर्छन् । 

उनी यसअघि वि.सं. २०६४ सालमा सम्पन्न भएको पहिलो संविधान सभा निर्वाचनमा बैतडीबाट निर्वाचित भएका थिए । पहिलो संविधान सभाले संविधान जारी गर्न नसकेपछि वि.सं.२०७० सालमा भएको दोस्रो निर्वाचनमा उनी बैतडी क्षेत्र नम्बर १ बाट एमालेका दामोदर भण्डारीसित पराजित भएका थिए । 

एमालेका भण्डारी लगातार तेस्रो पटक विजयी भएर ह्याट्रिक गर्दै संसद छिर्न चाहन्छन् । भण्डारी पूर्व अर्थ राज्यमन्त्रीसमेत हुन् । भण्डारी र कुँवर परिचित प्रतिस्पर्धी हुन् ।

बैतडीमा एमालेको संगठन बलियो र लगातार जित हात पारेको कारण भण्डारीको जितको अपेक्षा एमालेको छ । त्यस्तै माओवादी केन्द्र संगठनमा कमजोर देखिए पनि सत्ता गठबन्धनको साथले परिणाम आफ्नो पक्षमा आउने दाबी गर्छ ।

चार नगरपालिकासहित १० स्थानीय तह रहेको बैतडीमा एमालेले एक नगरपालिका र तीन गाउँपालिका जितेको थियो भने कांग्रेसले दुई नगरपालिका र दुई गाउँपालिका जितेको थियो । माओवादी केन्द्रले एक नगरपालिका जितेको थियो । एक स्थानीय तह भने स्वतन्त्रले जितेको थियो ।

वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा बैतडीमा गठबन्धन दलको कुल मत ५१ हजार ८२१ रहेको छ । एमालेको ३५ हजार ४८ मात्रै छ । 

कुँवर र भण्डारीबाहेक प्रतिनिधिसभाका लागि स्वतन्त्रबाट केशवबहादुर चन्द, त्रिलोकबहादुर चन्द, राप्रपाबाट देवबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशचन्द्र भट्टसहित ११ जना उम्मेदवार छन् । तर, मुख्य प्रतिस्पर्धामा भने कुँवर र भण्डारी देखिन्छन् । 

यस्तै प्रदेशसभा क्षेत्र नम्बर १ का लागि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका वीरबहादुर विष्ट, एमालेका सुरेन्द्र पाल र २ बाट कांग्रेसका शिवराज भट्ट र एमालेबाट लीलाधर भट्ट चुनावी मैदानमा छन् ।

प्रतिक्रिया