Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०३:११

जिल्लाको विकासका सवालमा झुट बोलेको प्रमाणित भए राजनितीबाट सन्यास लिन्छु: ठगुन्ना

बडूले एउटै सडकबाट ५२ करोड बजेट कटौती गरेको आरोप
सम्बाददाता सम्बाददाता
शुक्रबार, कार्तिक २५, २०७९
जिल्लाको विकासका सवालमा झुट बोलेको प्रमाणित भए राजनितीबाट सन्यास लिन्छु: ठगुन्ना

नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेशसिह ठगुन्नाले दिलेन्द्र प्रसाद बडू मन्त्री हुँदा एउटै सडकमा ५२ करोड बजेट कटौती गरेको बताएका छन् । मालिकार्जुन गाउँपालिकामा भएको चुनावी सभालाई सम्बोधन गर्दै एमाले दार्चुलाका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ठगुन्नाले जिल्लाको विकास बजेट कटौती गर्नेले जिल्लाको विकासका लागि अरु के गरे भन्दै प्रश्न गरेका छन् । 

"महाकाली करिडोरमा आफु मन्त्री हुँदा १ अर्व ३ करोड बजेट विनियोजित गरेको थिए ।" उनले भने, "तर आर्थिक वर्ष ०७८।०७९ मा बडू मन्त्री हुँदा बजेट कटौती गर्यो । अहिले सडकमा ५४ करोड मात्रै बजेट छ । जनताले हेर्न सक्नुहुन्छ, बडूले बजेट कति ल्याए  । रातो किताब हेरौँ । मैले झुट बोलेको प्रमाणित भए राजनीतिबाटै सन्यास लिन्छु ।"

"आफुले गर्न नसक्ने तर अरुले गरेको कामलाई समेत आफुले गरेको भन्दै ठगुन्नाले बडूको आलोचना गरेका छन् । बुधबार निर्माणधीन गोकुलेश्वर एयरपोर्टमा गएर बडुले भाषण गरेछन् ।" ठगुन्नाले भने,"वर्षौदेखि गौचरनमा परिणत भएको विमानस्थलमा बजेट हालेर अहिले काम भइरहेको छ । ०७० साल अघिसम्म विमानस्थलको हालत के थियो ?" पहुँचवाला मन्त्री भन्छन् तर जिल्लाको लागि बडूले पहुँच भएर के योजना ल्याए उनले प्रश्न गरे।

यहाँका सडक निर्माण सबै वडा जोड्ने गरी निर्माण भइरहेको छ । यी सडक सबै वडासम्म जोडिन्छ । हामीले एक घर एक धारा खानेपानी निर्माण भइरहेका छन् । सबै वस्तीमा विद्युतीकरण गर्ने गरी ठेक्का लागेको छ । विकस र सम्बृद्धिको लागि एमाले जिताउनुको विकल्प नरहेको उनको भनाई छ ।

माओवादी केन्द्रलाई लक्षित गर्दै ठगुन्नाले भने, "आफूलाई कम्युनिस्ट बताउने तर कांग्रेसका झण्डा बोकेर भोट माग्ने माओवादीमा कुनै नैतिकता बाकीँ रहेको छैन् । जनता हामीतिर छन् । नेता मात्रै कांग्रेसको पछि लागेका छन् ।" 

दार्चुलामा कांग्रेस परित्याग गर्ने बढे

दार्चुलामा पछिल्लो समय नेपाली काग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गर्ने सख्या बढेको छ । नेकपा एमाले थालेको चुनावी अभियानको क्रममा विभिन्न पार्टी परित्याग गर्दै एमाले प्रवेश गर्ने बढेको एमाले जिल्ला अध्यक्ष प्रेमसिंह धामीले बताए ।

मालिकार्जुन गाउँपालिकामा भएको चुनावी सभामा बिहीबार ३१ जनाले नेकपा एमाले प्रवेश गरेका छन् । अहिलेको अपवित्र गठबन्धन परित्याग गरि एमालेमा आएकाहरुलाई प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना र प्रदेशसभा १ का उम्मेदवार हरदेव जोशीले टिका लगाएर पार्टीमा भित्र्याएका छन् ।

एमाले प्रचार विभाग प्रमुख खडक बडालका अनुसार मालिकार्जुनमा भएको चुनावीसभामा बहादुरसिह चैसिर, हिक्मतसिह चैसिर, दानसिह धामी, देवसिह सामन्त, पूर्व गाविस सभापति, मदनसिह धामी, धनसिह धामी नेकपा एमाले प्रवेश गरेका छन् । यस्तै मालिकार्जुन वडा नम्बर ४ का नेपाली काग्रेसका प्रचारप्रसार संयोजक महेशसिह धामी, गाउ कार्यसमिति सदस्य दानसिह धामी, रामसिह धामी, कल्यानसिह धामी, गोवद्र्धन लोहार, शोभा लोहार, गोमा लुहार, बेलमति लुहार, प्रकाश चन्द, दयाल ओझा, बहादुर राम पार्की, योगेश चन्द, लिला पन्त, मोती जोशी, गोपाल दत्त पन्त, जानकी पन्त, राजेन्द्र पन्त, कृष्ण पन्त, पुष्करराम लोहार, नन्दा देवी पार्की, रामसिह रावल नेकपा एमाले प्रवेश गरेका छन् । 

यसैगरी नेकपा माओवादी केन्द्रका वडा कमिटी उपाध्यक्ष मदनसिह धामी, सदस्य महेशसिह धामी, केशरसिह धामी एमाले प्रवेश गरेको एमाले दार्चुलाका उपसचिव एवम् प्रचारप्रसार विभाग प्रमुख  बडालले जानकारी दिए ।

प्रतिक्रिया