Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०३:१२

दार्चुलामा ओलीले भने: एमालेको यो महासागर देखेपछि बडूजी ले काठमाडौंमै बसे हुन्छ

सम्बाददाता सम्बाददाता
शनिबार, कार्तिक १९, २०७९
दार्चुलामा ओलीले भने: एमालेको यो महासागर देखेपछि बडूजी ले काठमाडौंमै बसे हुन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका कांग्रेस नेता तथा मन्त्री दिलेन्द्र बडूलाई दार्चुला नफर्कन सुझाव दिएका छन् । 

बिहीबार दार्चुला सदरमुकाममा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग एमालेले फिर्ता ल्याउने भन्दै मन्त्री समेत रहेका कांग्रेस नेता बडु मन्त्री भएर पनि दार्चुलालाई नहेरेको र मिचिएको भूमि फिर्ता ल्याउने कुनै प्रयास नगरेको भन्दै भन्दै अब बडूको काम नभएको र गुमेको भूमि एमालेले फिर्ता गर्ने बताएका हुन् । 

चुनावपछि एकदिन आफू दार्चुलामा बस्नेगरी र स्थानीयसँग फोटो समेत खिचाउनेगरी आउने भन्दै ओलीले दार्चुलामा बाटो पुर्याउने काम आफूले गरेको दावी गरे । 

 ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग फिर्ता ल्याउँछ, दार्चुलामा बाटो एमालेले ल्याएको हो । सीमासम्म नै पुर्याउनुपर्नेछ, तर चट्टान भएकाले केही वर्ष लाग्नसक्छ’, ओलीले भने, ‘अब महाकाली नदीको तटबन्धनले दार्चुला बजार भत्काउन पाउने छैन । त्यसको ग्यारेन्टी एमालेले गर्छ । म गर्छु’, ओलीको भनाइ छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देशभक्त शक्ति एमालेले निर्वाचनपछि सरकार बनाउने भन्दै गठबन्धन टालाटुली बटुलीजस्तो भएको मात्रै बताए । उनले मन्त्री भएर पनि दिलेन्द्र बडूले केही नगरेकोमा कटाक्ष गरे । 

 ‘दिलेन्द्र बडूजीले यो सभा देखेपछि काठमाडौं नै बसे हुन्छ । यता नहेरे पनि हुन्छ । मन्त्री भएर उहाँले के गर्नुभयो रु काठमाडौंमा हुँदा दार्चुला सम्झनुभो उहाँले रु’, प्रश्न गर्दै ओलीले भने, ‘यहाँका समस्या सम्झनुहुन्न, यहाँको उत्पादन र आत्मनिर्भरबारे सोच्नुभएन । भेडापालन, चौरी पालन गर्न सकिन्छ । त्यो निर्यात गर्न सकिन्छ ।

उनले आज दार्चुला र कालापानी विश्वले चिन्ने भएको भन्दै  व्यास हिमालका फेदको छुर्पी नचिन्ने विश्वमा को होला ? भनेर प्रश्न गर्दै भने, ‘तर त्यसको व्यवस्थापन गर्न सकिएको छैन, गर्नुपर्छ ।’

 कार्यक्रममा कार्यकर्ताको उपस्थिति देखेर उत्साहित भएका ओलीले भने ‘एमालेप्रतिको यो विश्वास र उत्साहलाई धन्यवाद भन्न चाहन्छु । तपाईंहरुको आशा निराशामा परिणत हुन दिनेछैन । उनले दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेश ठगुन्ना तथा प्रदेशसभाका रामदत्त जोशी र हरदेव जोशीलाई विजयी बनाउन आग्रह समेत गरे । 

उनले यसअघि आफू भारतमा जाँदा दार्चुलाका तत्कालीन सांसद गणेश ठगुन्नालाई सँगै भारत लगेर त्यहाँका गभर्नर लगायतका अधिकारीसँग राखेर स्थानीय तवरमा वार्ता गर्नु सुझाएको भन्दै आफूले उत्तराखण्डमा पुल बनाउन दिल्लीलाई सहमत गराएको पनि बताए । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले विकासका काम गर्दागर्दै पार्टीभित्र मधुकैटभहरु जन्मिएकाले काम गर्न नदिएको बताए । 

ओलीले दार्चुलाको कार्यक्रम सकेर बिहीबार नै बैतडी र कञ्चनपुरको कार्यक्रम सकेर शनीबार काठमाडौं फर्किएका छन् । 

प्रतिक्रिया