Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०६:३५

दार्चुलामा मतदाता रिझाउनतर्फ उम्मेदवार  : कोही हलो जोत्दै, कोही नाच्दै, कोही भने धर्मकर्मतिर

सम्बाददाता सम्बाददाता
बिहिबार, कार्तिक १७, २०७९
दार्चुलामा मतदाता रिझाउनतर्फ उम्मेदवार  : कोही हलो जोत्दै, कोही नाच्दै, कोही भने धर्मकर्मतिर

संसदीय निर्वाचनको महासंग्राम आउन अब जम्मा १७ दिन बाकीँ छ । आगामी मंसिर ४ मा देशभर एकैसाथ सम्पन्न हुने स्थानीय तह निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले चुनावी प्रचारप्रसार एवम् मतदाता भेटघाटलाई तिव्रता दिएका छन् । आफ्नो पक्षमा मतदाता रिझाउन उम्मेदवारहरु अनेक प्रचारप्रसारका अनेक जुक्ती  अपनाइ रहेका छन् ।

यसैबिच प्रतिनिधि सभाका लागि एक तथा प्रदेश सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको दार्चुलामा उम्मेदवारहरुले मतदातालाई खुसी पारि आफ्नो पक्षमा मत माग्न अनेक शैली अपनाइरहेका छन् । 

सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडू पनि दार्चुलाका विभिन्न स्थानमा पुगेर मतदातासित भेटघाट गरिरहेका छन् । दार्चुलामा गठबन्धनका साझा उम्मेदवार रहेका बडू नेपाली कांग्रेशका कन्द्रीय सदस्य समेत हुन् । मन्त्री बडू संगै प्रदेश सभा निर्वाचन क्षेत्र २ का उम्मेदवार एवम् सुदूरपश्चिम प्रदेशका वन, वातारण तथा पर्यटन मन्त्री मानबहादुर धामी (सन्तोष) सहितको टोली तीन दिनअघि मतदाता भेटघाट गर्न मार्मा हुदैं जिल्लाको नौगाड गाउँपालिकाको सिप्टी पुगेको थियो । 

मतदाता भेटघाटका क्रममा नौगाड गाउँपालिकाको सिप्टीमा भएको सत्तारुढ गठबन्धनको चुनावी कार्यक्रममा कलाकार मनोजसिंह धामी र बाल कलाकार मिलन टमटाबिच दोहोरी चलेको थियो । कलाकारद्धय धामी र टमटाले दार्चुलामा गठबन्धनलाई जिताउन आवस्यक रहेको शैलीमा दोहोरी भट्ट्याइरहेका थिए । 

सोही क्रममा बाल कलाकार मिलनले गाए, 'हे भात सित खान्छु म घ्यू पनि, नाच्न आउनुस मन्त्री ज्यू पनि । माया पानको पात....।' भनेपछि बडू पनि उनको आग्रहलाई सहजै स्वीकार्दै छमछमी नाचे ।

यस्तै गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यमा दार्चुला २ बाट उम्मेदवार रहेका सुदूरपश्चिम प्रदेशका मन्त्री समेत रहेका धामीले पनि प्रचारप्रसारका क्रममा मतदाताहरुका खेतमा हलो जोतिरहेका र धानबाली चुटिरहेका तस्विर सामाजिक सञ्जालमा भाइरल बनेका छन् । धामीको प्रचारप्रसारको यस शैलीलाई लिएर दार्चुलामा उनको पक्ष/विपक्षमा टिप्पणी भइरहेका छन् । 

यस्तै दार्चुलाबाट प्रदेश सभा निर्वाचन क्षेत्र १ मा गठबन्धनका उम्मेदवार विक्रमसिंह धामी भने आफ्नो निर्वाचन क्षेत्रमा मतदाता भेटघाटका साथै मन्दिरहरुको दर्शन गर्नमा समय दिइरहेका छन् । धामी आफैंमा पनि धार्मिक तथा आध्यात्मप्रति आस्थावान व्यक्ति भएकाले पनि उनले धर्मकर्ममा समय दिइरहेको जनाइएको छ । आफू निर्वाचित भए मुख्य एजेण्डाका रुपमा मालिकार्जुन, चमेलिया र महाकालीमा धार्मिक पर्यटनको विकास गर्नु रहेको धामीले बताउदैं आएका छन् । 

आफ्नो झण्डै २ दशक लामो पत्रकारिता क्षेत्रबाट प्रदेश सभा १ बाट स्वतन्त्र उम्मेदवारका रुपमा राजनितीमा उदाएका अर्का उम्मेदवार हुन् शंकरसिंह धामी । पत्रकार धामी लामो समयदेखि जिल्लाको सीमा क्षेत्र र उपभोक्ता हितका मुद्दालाई विषेश प्राथमिकताका साथ उठाउदैं आइरहेका छन् । स्वतन्त्र उम्मेदवार धामीले पनि महाकाली नदीमा स्नान गरि मालिकार्जुन धामबाट आफ्नो प्रचारप्रसारको अभियानलाई तिव्रता दिएका छन् । 

उनले केहिदिन अघिमात्रै दार्चुलाको चुनावी इतिहासमा मत माग्न उम्मेदवार समेत नपुगेको व्यास गाउँपालिको छांगरु लगायतका गाउँमा आफू पहिलोपटक पुगेर स्थानीय सित आफ्नो पक्षमा मत मागेको बताएका छन् । उनलाई पनि धार्मिक एवम् अध्यात्मप्रति रुचि राख्ने उम्मेदवारका रुपमा अथ्र्याइएको छ । 

सत्तारुढ गठबन्धन र स्वतन्त्र उम्मेदवारहरुले जिल्लामा प्रचारप्रसारलाई नयाँ शैलीले अपनाइरहदाँ यता नेकपा एमालेका उम्मेदवारहरुले भने पुरानै शैलीसहित मतदाता भेटभाट एवम् चुनावी सभा गरिरहेका छन् । एमालेबाट प्रतिनिधि सभामा आफ्नो लगातारको तेस्रो जीत निकाल्ने दाउसहित पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, प्रदेश सभा १ बाट हरदेव जोशी तथा प्रदेश सभा २ मा पार्टीका पूर्व जिल्ला अध्यक्ष रामदत्त जोशी चुनावी मैदानमा छन् । 

नेकपा एमालको पार्टी अध्यक्ष केपी शर्मा ओली शुक्रबार (भोलि) दार्चुला सदरमुकाम खलंगा आउने कार्यक्रम रहेको छ । एमालेको देशव्यापी चुनावी अभियानको आरम्भ गर्न पार्टी अध्यक्ष ओली दार्चुला आउन लागेका हुन् । उनले दार्चुला सदरमुकाम खलंगासिथत खुलामञ्चमा एमालेको विसाल जनभेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले दार्चुलाका उपसचिव खडक बडालले जानकारी दिएका छन् । 

यस्तै उम्मेददवारहरुले सामाजिक सञ्जाल तथा सञ्चार माद्यमहरुबाट पनि आआफ्नो पक्षमा मत मागिरहेका छन् । 

जिल्लामा चुनावी चहलपहल बढिरहेको छ । यद्यपी सत्तारुढ दलहरु बिचको चुनावी गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवार मध्ये निर्वाचनपछि दार्चुलाबाट कसले संसदीय यात्रा सुनिश्चित गर्छ त ? त्यो जान्नका लागि भने आगामी मंसिर ४ पर्खिनैपर्ने हुन्छ । 

प्रतिक्रिया