Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०२:२८

९ वर्षको अन्तराल पछि एमाले अध्यक्ष ओली दोस्रो पटक दार्चुला आउदैं

सम्बाददाता सम्बाददाता
मङ्गलबार, कार्तिक १५, २०७९
९ वर्षको अन्तराल पछि एमाले अध्यक्ष ओली दोस्रो पटक दार्चुला आउदैं

आसन्न संसदीय निर्वाचनलाई लक्षित गरेर नेपाल कम्युनिस्ट पार्टी एमालेले सुदूरपश्चिम प्रदेशस्थित दार्चुला सदरमुकाम खलंगाबाट राष्ट्रव्यापी चुनावी अभियानको थालनी गर्ने भएको छ। अभियानलाई सम्बोधन गर्न कार्तिक १८ गते अध्यक्ष केपी शर्मा ओली दार्चुला आउने कार्यक्रम तय गरिएको छ । 

ओली प्रधानमन्त्री भएको बेला चुच्चे नक्सा जारी भएकै जिल्लाबाट चुनावी सभाको उद्घाटन हुने भएपछि एमाले दार्चुलाले त्यसको तयारी तीव्र पारेको जनाएको छ। एमाले प्रचार विभाग प्रमुख खडक बडालले खलंगामा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने उक्त चुनावी सभामा जिल्लाभरिका १० हजार जनता उतार्ने लक्ष्य रहेको बताए।

पहिलोपटक जिल्लाबाट देशव्यापी चुनावी अभियान सुरु हुने भएपछि सबै पालिकाबाट जनमानसको सहभागिता गराउने एमाले दार्चुलाको तयारी रहेको छ। 

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि पहिलोपटक दार्चुलामा ओलीको भ्रमण हुन लागेको हो।

दार्चुलाका लागि यो उनको दोस्रो राजनैतिक भ्रमण हो । यसअघि ओली २०७० सालको संविधानसभा निर्वाचनको क्रममा एमाले उम्मदेवार गणेशसिंह ठगुन्नाका पक्षमा मत माग्न दार्चुलाको गोकुलेश्वरस्थित आमसभामा पुगेका थिए। ९ वर्षपछि पुनः दार्चुलामा हुन लागेको ओलीको भ्रमणलाई भव्य बनाउन एमालेले सबै शक्ति परिचालन गर्ने भएको छ।

प्रतिक्रिया