Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०३:११

दार्चुलामा गठबन्धनको मूल टोली मार्मामा, बिक्रमसिंह धामी दुहुँमा मतदाता भेटघाटमा व्यस्त

सम्बाददाता सम्बाददाता
आइतबार, कार्तिक १३, २०७९
दार्चुलामा गठबन्धनको मूल टोली मार्मामा, बिक्रमसिंह धामी दुहुँमा मतदाता भेटघाटमा व्यस्त

दार्चुलामा सत्तारुढ गठबन्धनको मूल प्रचारप्रसार टोली नौगाड हुँदै मार्मा पुगेको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवं उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्र प्रसाद बडू र सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले नौगाड गाउँपालिकाको सिप्टी र मार्मा गाउँपालिकाको निम्ठामा घरदैलो कार्यक्रम गरेका हुन् ।

घरदैलो गर्दै उनिहरुले जिल्लाको समग्र विकासका लागि गठबन्धनलाई जिताउन आग्रह गरेका छन् । कार्यकर्ता र मतदाता भेटघाटका क्रममा मन्त्रीद्धयले विकास र लोकतन्त्र तथा संबिधानको रक्षाका लागि गठबन्धनलाई जिताउन आग्रह गरेका छन् । 

प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार बिक्रमसिंह धामीको टोली महाकाली क्षेत्रमा घरदैलो गरेर दुहुँ गाउँपालिकाको सिमली हुदै ब्रम्हदेव पुगेको छ । घरदैलोमा व्यस्त रहेका उम्मेदवार धामीलाई जनताले फुलमालाले स्वागत गरिरहेका छन् । 

महाकाली नगरपालिकामा आयोजित कोणसभामा बोल्दै नेपाली काँग्रेसका सचिव पुलेन्द्र बहादुर कार्कीले दार्चुलामा एमाले जितेर बिकास भन्दा पनि बिकृती मात्रै बढेको धारणा राखे । तत्कालीन जिल्ला विकास समितीमा एमालेले नेतृत्व गर्दा पार्टी संचालनको लागी जिल्ला विकास समितीबाट बितरण हुने योजनामा लेवि भनेर कमिसन उठाएर जिल्लामा कमसिनमा योजना बेच्ने कामको सुरुवात गरेको आरोप लगाए ।

कोणसभामा आफ्नो धारणा राख्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार बिक्रमसिंह धामीले ५ बर्षसम्म संसद चलाएर राजनीतिक स्थिरता कायम गरेर समृद्धिको जग हाल्न र संविधान र लोकतान्त्रको रक्षा गर्न लोकतान्त्रिक बाम गठबन्धनले जित्नु आवश्यक रहेको बताए । आफुले जनता र समाजको हित बाहेक अर्को कुनै स्वार्थ नराखेको हुँदा जनताको आशिर्वाद पाएर आफू सांसद बने संसदको गरिमा प्रतिष्ठा बढाउन असल सांसद बन्ने बताए । 

जिल्ला प्राकृतिक, सास्कृतिक रूपमा सम्पन्न भएको हुँदा यहाँका प्रमुख धार्मिक क्षेत्र एवं पवित्र गंगा महाकाली र चौलानीलाई तीर्थ बनाएर दार्चुला जिल्लालाई धार्मिक पर्यटकिय क्षेत्र बनाउने अभियानको आफू अभियान्ता समेत भएकोले आफुलाई साथ सहयोग गर्न उनले आग्रह गरे ।

भेटघाट एवं घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि सुरेन्द्र बम, माओवादी केन्द्रका नेत्री भागरती बडाल लगायत अन्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया