Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०६:१५

दार्चुलामा एमालेको टोली मतदाता भेटघाट गर्न लेकम प्रवेश, ओली आउने भएपछि यस्तो छ तयारी

सम्बाददाता सम्बाददाता
शुक्रबार, कार्तिक ११, २०७९
दार्चुलामा एमालेको टोली मतदाता भेटघाट गर्न लेकम प्रवेश, ओली आउने भएपछि यस्तो छ तयारी

संसदीय निर्वाचनलाई लक्षित गरेर आगामी कार्तिक १८ गते दार्चुला सदरमुकाम खलंगामा हुने नेकपा (एमाले) को चुनावी अभियानलाई भव्य बनाउन तयारी थालिएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पहिलो चुनावी अभियानलाई सम्बोधन गर्ने कार्यक्रम छ।

चुनावी अभियानको लागि खलंगामा मञ्च व्यवस्थापन र  प्रचारप्रसारको काम तीव्र पारिएको एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिए।

‘चुच्चे नक्साले ओगटेको भूभाग फिर्ता ल्याउन एमालकै सरकार’ भन्ने मूल नाराका साथ एमालेले अभियानको थालनी गर्ने भएको हो। 

‘केपी ओलीकै पालामा नेपालको भूगोल बढ्ने गरी नक्सा जारी भयो, अब भूगोल फिर्ताको लागि एमालेकै सरकार चाहिन्छ,’ एमाले प्रचार विभाग प्रमुख बडालले भने, ‘पहिलो पटक राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु हुनुले ओलीको यो जिल्लाप्रति लगाव पनि देखिन्छ।’

खासगरी भारतले अतिक्रमण गरेको दार्चुलाकै भूगोल नक्सामा बढेको कारण पनि ओलीले यो पटक यहीँ भूमिमा आएर चुनावी अभियानको समुद्घाटन गर्न लागेको बडालको भनाई छ।

चुनावी अभियानको लागि एमालेले प्रचारको काम तीव्र पारेको जनाएको छ। ९ वटै स्थानीय तहबाट चुनावी अभियानमा कार्यकर्ता सहभागिता गराउने गरी तयारी भइरहेको हो।

कात्तिक १८ गते हुने चुनावी अभियानअन्तर्गत बिहान ११ बजे खुलामञ्चमा देशव्यापी चुनावी अभियानको उद्घाटन हुनेछ।

भारत र चीनसँग सीमा जोडिएको यो जिल्लाबाट चुनावी अभियान थालेर एमालेले ‘राष्ट्रवादी’ मुद्दा चर्काउने संकेत गरेको छ।

भारतले अतिक्रमण गरेको दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको क्षेत्र समेटेर एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले चुच्चे नक्सा जारी गरेपछि दार्चुलाबासी पनि उत्साहित भएको एमालेले जनाएको छ।

देशभरका चुनावी अभियानको व्यानरमा चुच्चे नक्सालाई राखिने गरी एमालेले तयारी थालेको छ। 

ठगुन्ना शैल्यशिखर हुँदै लेकम प्रवेश 

यस्तै नेकपा एमालेको मूल प्रचार टोली शैल्यशिखर नगरपालिका हुदैं लेकम गाउँपालिकातर्फ प्रवेश गरेको छ। पोलिटव्युरो सदस्य एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेशसिह ठगुन्ना, प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशी लगायतको टोली शैल्यशिखर नगरपालिकामा मतदाता भेटघाट गरि लेकम गाउँपालिका तर्फ लागेको हो। 

उम्मेदवारहरुले शैल्यशिखर नगरपालिकास्थित तौकी, देथला, नायल, गोकुलेश्वर लगायतका बस्तीमा भेटघाट तथा सम्बोधन गरेका थिए भने आज लेकम गाउँपालिकाकाको गणेत लगायतका स्थानमा भेटघाट गरिरहेका छन् । 

कार्यकर्ता भेटघाटको क्रममा प्रतिनिधिसभा उम्मेदवार ठगुन्नाले दुई दशकदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल आफूले सुरु गरेको भन्दै आगामी पाँच वर्षभित्र पूरा गराउने बताए।

‘विमानस्थल पुर्ननिर्माणको काम सुरु भएको छ। मन्त्री हुँदा ५० करोडको बहूवर्षिय ठेक्का लागेर काम सुरु भएको हो,’ उनले भने, ‘आगामी दुई वर्षभित्र पुर्ननिर्माण सक्ने गरी काम हुन्छ।’ 

जिल्लाकै दोस्रो महत्वपूर्ण सडक खलंगा–खार–देथला–बिटुले–पारिबगर–खण्डेश्वरी सडकको ३५ करोड बजेट विनियोजन भएर निर्माणको काम अघि बढेको ठगुन्नाले जानकारी दिए।

तत्पश्चात एमालेको सरकारले यो सडकलाई रणनीतिक सडकअन्तर्गत राखेर ६० करोड थप बजेट बिनियोजन गरेको उनको भनाई छ।

‘दार्चुला–तिंकर सडकमा एमाले सरकारमा हुँदा एक अर्व ३ करोड बजेट विनियोजन भएको थियो। अहिले जिल्लाका मन्त्री हुँदा कति बजेट छ,’ पूर्वमन्त्रीसमेत रहेका ठगुन्नाले भने, ‘जनताले सोध्नुहोस्, तिंकर सडकमा कति बजेट छ ?’

राताकाठामा अड्किएको सडक आफ्नो पहलमा अघि बढेको भन्दै उनले थपे, ‘सरकारमा भएको बेला नेपाली सेनालाई दिएर निर्माणको काम अघि बढेको छ।’

कुकुडेपानीमा पार्टी प्रवेश
शैल्यशिखर नगरपालिका–२ को कुकुडेपानीमा भएको मतदाता भेटघाट कार्यक्रममा स्थानीय टिकाराम विक, तेजराम विक, अशोक लावड, चन्नरराम लावड, सर्पे ओड, दिलाराम महर, मानसिंह धामी, कृष्ण महर र ०५४ सालमा तत्कालिन रानिशिखर गाविस–४ बाट निर्वाचित नेपाली काग्रेसका निदराम भट्ट एमालेमा प्रवेश गरेका छन्।

यस्तै प्रदेशसभा ९१० का उम्मेदवार हरदेव जोशी नेतृत्वको टोली महाकाली नगरपालिका–८ मा घरदैलो अभियानमा व्यस्त छ।

सामानुपातिक उम्मेदवार दीपा बुढाथोकी नौगाड हुँदै मार्मा क्षेत्रमा घरदैलो अभियानमा रहेका छन् । 

चुनावी अभियानअन्तर्गत महाकाली नगरपालिकाको असिगडामा निर्वाचन टोल परिचालन कमिटी गठन गरिएको एमालेले जनाएको छ। 

प्रतिक्रिया