Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०६:३५

दलका उम्मेदवारप्रति जनता निराश छन्, आफू निर्वाचित हुनेमा ढुक्क छु : स्वतन्त्र उम्मेदवार धामी

सम्बाददाता सम्बाददाता
शुक्रबार, कार्तिक ११, २०७९
दलका उम्मेदवारप्रति जनता निराश छन्, आफू निर्वाचित हुनेमा ढुक्क छु : स्वतन्त्र उम्मेदवार धामी

आगामी मंसिर ४ मा हुने निर्वाचनको मिति नजिकिएसंगै दार्चुला जिल्ला प्रदेश सभा क्षेत्र १ को चुनावी दृश्य रोचक बन्दै गएको छ ।

प्रदेश सभा १ बाट स्वतन्त्र उम्मेदवारी दिएर यतिबेला चुनावी प्रचारप्रसारमा सक्रिय रहेका नेपाल पत्रकार महासंघ दार्चुलाका पुर्व अध्यक्ष शंकरसिह धामीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार विक्रमसिंह धामी, नेकपा एमालेका उम्मेदवार हरदेव जोशी लगायतका उम्मेदवारलाई चुनौती दिइरहेका छन्। 

चुनाव आउन लगभग २४ दिन मात्रै बाँकी रहेको अवस्थामा दलका उम्मेदवारमाथि प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका धामी भारी पर्ने देखिएको हो । 

दार्चुलामा विभिन्न दलबाट निर्वाचित प्रतिनिधिहरुबाट पटकपटक जनता ठगिएको तथा मतदातालाई निराश पार्ने काम मात्रै भएकाले पनि जिल्लामा स्वतन्त्र उम्मेदवार धामीप्रति आफूहरुको विश्वास बढेको मतदाताहरुको बुझाइ रहेको छ । 

सिमा क्षेत्र लगायत जिल्लाका महत्वपुर्ण विकास निर्माणको वारेमा पटकपटक आवाज उठाउदैं आएका स्वतन्त्र उम्मेदवार धामी एकमात्र क्षमतावान तथा इमानदार उम्मेदवार रहेकाले उनलाई आफ्नो पूर्ण समर्थन रहेको व्यासँ गाउँपलिका स्थानियबासी विमलकुमार बोहराले बताए। 

प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका धामी यतिबेला जिल्लाका विभिन्न स्थानमा पुगि मतदातासित भेटघाट तथा आफ्ना प्रतिबद्धता जनतामाझ प्रस्तुत गर्नमा व्यस्त रहेका छन् । मतदाताहरुमा दलका उम्मेदवारप्रति अबिश्वास पाइएकाले पनि आफू जित्नका लागि चुनावी मैदानमा उत्रिएको र मतदाताहरुबाट बहुमत पाएर निर्वाचित हुने धामीले बताए । 

उनले 'बिजुलीको चिम' चुनाव चिन्ह लिएर दार्चुला १ (१) बाट आसन्न प्रदेश सभा निर्वाचनमा भाग लिएका छन् । 

प्रदेश सभा क्षेत्र नं. १ मा व्यास गाउँपालिका, दुँहु गाउँपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका गरि ५ स्थानिय तहको भुगोल समेटिएको छ ।

प्रतिक्रिया