Wide Nepal News आइतबार ०६, जेठ २०८१ ०२:३३

डिलासैनी अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी सेटिगाउँ बहुमुखी क्याम्पसलाई

सम्बाददाता सम्बाददाता
आइतबार, कार्तिक ०६, २०७९
डिलासैनी अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी सेटिगाउँ बहुमुखी क्याम्पसलाई

बैतडीको डिलासैनी गाउँपालिकाले आयोजना गरेको गाउँपालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी सेटिगाउँ बहुमुखी क्याम्पस ककरपाखा बैतडीले हात पारेको छ । 

आज दिउँसो ३ बजे भएको फाइनल खेलमा वडा नम्बर ३ बगडीलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेटिगाउँ बहुमुखी क्याम्पसले उपाधी हात पारेको हो । 

डिलासैनी गाउँपालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता वडा नम्बर ५ स्थित हरिनगर खेल मैदानमा गत असोज ४ गतेदेखि सञ्चालन भएको थियो । प्रतियोगितामा गाउँपालिका भरिका ९ ओटा टिमको सहभागिता रहेको थियो । 

प्रतियोगितामा प्रथम हुने टिम सेटिगाउँ बहुमुखी क्याम्पसले नगद ५० हजार नगदसहित कप, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा उपविजेता बनेको वडा नम्बर ३ बगडीले  २५ हजार नगद सहित कप, प्रमाणपत्र र मेडल हात पारेको तथा सान्त्वना हुने टिम पंसेराले १५ हजार नगदसहित कप, प्रमाणपत्र र मेडल प्राप्त गरेको डिलासैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिएका छन् । 

यस्तै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।

डिलासैनी गाउँपालिकाले कार्तिक ४ गतेदेखि आयोजना गरेको प्रातियोगितालाई गोकुलेश्वर एकता युवा क्लबले व्यवस्थापन गरेको थियो । 

प्रतिक्रिया