Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०५:५५

मतदाता भेटघाटमा पूर्वमन्त्री ठगुन्ना व्यस्त, दार्चुलामा एमालेको जीत सुनिश्चित रहेको दाबी

जिल्लामा एमालेले सुरु गरेका योजना पूरा गर्न एमालेको जीत आवस्यक रहेको तर्क
सम्बाददाता सम्बाददाता
आइतबार, कार्तिक ०६, २०७९
मतदाता भेटघाटमा पूर्वमन्त्री ठगुन्ना व्यस्त, दार्चुलामा एमालेको जीत सुनिश्चित रहेको दाबी

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिंह ठगुन्ना, प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशीसहितको टोली अपिहिमाल गाउँपालिकामा ३ दिन बिताएर फर्किएको छ । 

अपि हिमाल गाउँपालिकाका सबै वडामा घरदैलो सकेर उत्साहित हुँदै टोली फर्किएको नेकपा एमाले प्रदेश कमिटी सदस्य धर्मानन्द मन्यालले जानकारी दिए ।

स्थानीय तहमा पराजय भोगेका कारण पनि यो पटक एमालेको नेतृत्व गाउँ पुगेपछि निराश भएका कार्यकर्तामा उर्जा थपिएको उनले बताए । "गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले पराजय भोगेको अपिहिमालमा प्रदेश र संघीय निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउने गरि कार्यकर्ता परिचालनको नीति बनाइएको छ।" मन्यालले भने, "उम्मेदवारहरुको उपस्थितिले कार्यकर्तामा थप उत्साह थपिएको छ ।"

एमाले उम्मेदवार अपिहिमालका बस्तीबस्ती सम्म पुगेपछि एमालेबाट परित्याग गरेर समाजवादी प्रवेश गरेका अपिहिमाल गाउँपालिका वडा नम्बर २ का भुरी धामी पुन एमालेमै फर्किएका छन् । वि.सं. २०७४ को स्थानीय निर्वाचनमा वडा कमिटी सदस्यमा निर्वाचित धामी एमाले जिताउने संकल्प लिएर घर फर्किएको मन्यालले बताए । 

यस्तै नेपाली कांग्रेश अपिहिमालकै क्रियाशिल सदस्य चन्द्रसिंह लोथ्याल र गोरे धामी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रतिनिधिसभा उम्मेदवार ठगुन्नाले टिका लगाएर प्रवेश गराए ।

पूर्वमन्त्री समेत रहेका ठगुन्नाले एमाले मात्र सर्वहारा गरिब जनताको पार्टी भएको उल्लेख गर्दै सबैको उचित मूल्यांकन एमालेले गर्ने बताए । "अपिहिमाल गाउँपालिकामा हाम्रो पार्टी नेतृत्वमा हुँदा थुप्रै विकास भएका छन् । सबैले देख्ने गरी सिद्ध मकरिकोट पदमार्ग हामीले बनायौँ । पर्यटन मन्त्रालयबाट बजेट विनियोजनदेखि निर्वतमान अध्यक्ष धर्मानन्द मन्यालको भिजनका कारण यो पदमार्ग सबैको लागि आकर्षक बनेको छ । एकल पुरुषलाई सामाजिक सुरक्षा भत्तादेखि सबै वडा कार्यालय भवन प्रशासकीय भवन, हिलोमुक्त लगायतका आकर्षक कार्यक्रम एमालेले ल्यायो । सबै घरधुरीका ग्याँस वितरण हाम्रा कार्यक्रमभित्र पर्दछन् ।" ठगुन्नाले भने, "विटुले-पारिबगर हुदै खण्डेश्वरी जोड्ने सडक अहिलेसम्म यहाँ पुगिसक्थ्यो । तर ठेकेदारले समयमै काम नगरिदिदा केही ढिलाई भयो । हामी यो सडक चाडै गाउँपालिकामा पुर्याउँछौ । मकरीगाडमा हाइड्रोपावर निर्माण अन्तिम चरणमा पुगेको छ । "

यो क्षेत्रको पर्यटन विकासको लागि अझै हामी काम गर्छौ उनको भनाई छ ।

"अहिले प्रदेश र संघीय निर्वाचन भएको कारण दार्चुलाको समग्र विकासको लागि नेकपा एमालेका उम्मेदवार जिताउन अपिल गर्छौ ।" उनले भने, "अहिले कोही निराश हुनुपर्ने अवस्था छैन् । विकासको लागि एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने अरु कुनै दल छैनन् ।" एमालेभित्र अझै कार्यकर्ता र जनताको भावना बुझ्न सक्ने क्षमता रहेको भन्दै मत दिएर जिताउन उनले अपिहिमालबासीमा आग्रह गरेका छन् । 

"स्थानीय तहमा एमाले गठबन्धन भन्दा अगाडी छ, स्थानीय तह निर्वाचनपछि सयौँ कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन्, त्यसैले दार्चुलामा एमालेको जितलाई कसैले रोक्न सक्दैन ।" ठगुन्नाले भने, "दार्चुलाको समग्र विकास र समृद्धिका लागि एमालेले अघि सारेका योजना कार्यक्रमहरु पुरा गर्न एमालेकै नेतृत्व आवश्यक छ ।"

यस्तै प्रदेशसभा १ का उम्मेदवार हरदेव जोशी नेतृत्वको टोली दुहुँ गाउँपालिका वडा नम्बर ३ को खेती गाउँ हुँदै महाकाली नगरपालिकाको छापरी, सेलामा भेटघाट गरेको छ । महाकाली नगरपालिका भेटघाटपछि टोली लेकम, मालिकार्जुन क्षेत्रमा भेटघाटमा जाने कार्यक्रम तय भएको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा समानुपातिक उम्मेदवार दीपा बुढाथोकी नेतृत्वको टोली नौगाड प्रस्थान गरेको छ । नौगाडको होपरीमा मतदाता भेटघाट कार्यक्रम तय भएको एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिह बुढाथोकीले जानकारी दिए ।

यसैबीच नेकपा एमालेले मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ र वडा नम्बर ८ मा निर्वाचन परिचालन कमिटी गठन भएको छ । कार्यक्रममा प्रदेश कमिटी सदस्य मोहनसिंह धामी, तिलकसिंह धामी लगायतको सहभागिता रहेको थियो । 

दुहुँ गाउँपलिका वडा नम्बर २ मा जमनसिह बडालको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन भएको छ । वडा नम्बर ३ मा नेकपा एमालेको वडा कमिटी बैठक सम्पन्न भएको छ ।

लेकम गाउँपालिकाका सबै वडामा निर्वाचन परिचालन कमिटी गठन गरि उनीहरुलाई निर्वाचन परिचालनबारे जानकारी दिने र प्रचारप्रसार गर्ने काम भइरहेको जिल्ला कमिटी सचिवालय सदस्य एबं लेकम इन्चार्ज परमानन्द जोशीले बताए ।

प्रतिक्रिया