Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०३:१२

संसदीय निर्वाचनमा एक दशकपछि मन्त्री बडू र पूर्वमन्त्री ठगुन्ना आमनेसामने, को कति बलियो ?

पूर्वमन्त्री ठगुन्ना ह्याट्रिक जीतको पर्खाइमा
सम्बाददाता सम्बाददाता
शनिबार, कार्तिक ०५, २०७९
संसदीय निर्वाचनमा एक दशकपछि मन्त्री बडू र पूर्वमन्त्री ठगुन्ना आमनेसामने, को कति बलियो ?

संसदीय निर्वाचनमा झण्डै एक दशकपछि एमालेका नेता गणेशसिंह ठगुन्ना र नेपाली कांग्रेशका नेता दिलेन्द्रप्रसाद बडू तेस्रो पटक आमने सामने हुदैछन् । 

संसदीय निर्वाचन मुखैमा आइसकेको छ । निर्वाचन आउन जम्माजम्मी २९ दिन बाँकी रहदाँ दार्चुलामा प्रतिनिधि सभा सदस्यमा मन्त्री या पूर्वमन्त्री कसले बाजी मार्छ भन्ने विषयमा राजनितिक बजारमा अनेक अड्कलबाजी लगाउन थालिएका छन् । 

आगामी मंसिर ४ गते हुने निर्वाचनमा पूर्वमन्त्री गणेशसिंह ठगुन्ना र बाहालवाला मन्त्री दिलेन्द्रप्रसाद बडूबिच यो पटकको चुनावमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । करिब एक दशक (२०७० सालको संविधान सभा निर्वाचन) पछि बडू र ठगुन्ना दार्चुलाबाट प्रतिस्पर्धाका लागि चुनावी मैदानमा उत्रिएका हुन्। 

अहिले जिल्लामा एमाले र गठबन्धनका उम्मेदवारहरु आआफ्ना कार्यकर्तासहित मत माग्न घरदैलो अभियानमा व्यस्त देखिन्छन् । लामो समयदेखि दार्चुलालाई प्रनिनिधित्व गरेर राष्ट्रिय राजनितीमा स्थापित भएका दुबै नेता विगतमा आफूले गरेका काम तथा आगामी प्रतिबद्धता मतदाता माझ लगेर मत मागिरहेका छन् । 

नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका मन्त्री बडूलाई माओवादी केन्द्रको समर्थन छ, भने ठगुन्ना सत्ता गठबन्धन विरुद्ध एमालेबाट एक्लै चुनावी मैदानमा आएका छन । ठगुन्ना  ‘ह्याट्रिक’ जीत निकाल्ने दाउमा छन् । यसअघि उनले वि.सं.२०७० सालको संविधान सभा सदस्य निर्वाचन र वि.सं.२०७४ सालमा सम्पन्न प्रतिनिधी सभा सदस्यमा लगातार शानदार जीत निकाली सकेका छन् । 

वि.सं. २०६४ सालको पहिलो संविधान सभा चुनावमा पहिलो पटक बडू र ठगुन्ना एक अर्काका प्रतिस्पर्धी बनेका थिए। त्यस बेला दार्चुलामा माओवादीका लक्ष्मदत्त जोशी विजयी भएका थिए। एमालेका ठगुन्ना दोस्रो र कांग्रेसका बडू तेस्रो स्थानमा थिए। विसं. २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा बडूलाई पराजित गर्दै ठगुन्नाले पहिलो पटक संसद यात्रा तय गरेका थिए। त्यस पछि अहिले फेरी उनै ठगुन्ना र बडूबीच दार्चुलामा कडा प्रतिस्पर्धा हुँदैछ। 

वि.सं. २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसबाट दार्चुला १ बाट अहिले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका बडू विजयी भएका थिए। अर्को क्षेत्रबाट राप्रपाका अकबरबहादुर सिंह सांसद बनेका थिए। वि.सं.२०५१ सालको चुनावमा कांग्रेसले दार्चुलामा वर्चस्व गुमायो। ०४८ सालमा चुनाव जितेका कांग्रेसका बडू ०५१ मा एमालेका नेता प्रेमसिंह धामीसँग हारेका थिए। २०५६ को चुनावमा भने दार्चुलामा कांग्रेसले फेरि झण्डा फहरायो। 

एमालेका वीरबहादुर ठगुन्नालाई हराउँदै कांग्रेसका बडूले चुनाव जिते। त्यसयता दार्चुलामा कांग्रेसले संसदीय चुनाव जित्न सकेको छैन। ०५६ पछि दार्चुलामा कम्युनिस्ट पार्टीको दबदबा छ। ०६४ को पहिलो संविधान सभा चुनाव नेकपा माओवादी केन्द्रका लक्ष्मणदत्त जोशीले जितेका थिए। दार्चुलामा ०७० को दोस्रो संविधान सभा निर्वाचन र ०७४ सालको चुनाव पनि कांग्रेसले गुमायो। ०७० मा कांग्रेसका बडूलाई उछिन्दै एमालेका ठगुन्ना विजयी भएका थिए।

०७४ सालमा पनि ठगुन्नाले माओवादी केन्द्रको समर्थनमा वाम गठबन्धनको साझा उम्मेदवार बनेर संसद पस्ने मौका पाए। ठगुन्नाले त्यसबेला २८ हजार ९९८ मत ल्याएका थिए भने कांग्रेसका विक्रमसिंह धामीले २२ हजार २३३ मत ल्याएका थिए। ०७४ को प्रदेश सभा चुनावमा पनि वाम गठबन्धनकै उम्मेदवारले बाजी मारेका थिए। 

दार्चुलामा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट ०५६ पछि जित हासिल गर्न नसकेको नेपाली कांग्रेस दुई दशक पुरानो विरासत फर्काउने दाउमा छ। नेकपा एमाले भने कम्युनिस्टको किल्ला यथावत् राखेर जितलाई निरन्तरता दिने रणनीतिका साथ चुनावी मैदान उत्रिएको छ।

पूर्वमन्त्री ठगुन्ना पनि बडूमाथी जित निकालेर ह्याट्रिक गर्ने रणनीतिमा छन्। तर सत्तारुढ गठबन्धनविरुद्ध ठगुन्नालाई जित हासिल गर्न सहज छैन। ०६४ सालमा पहिलोपटक संसदीय चुनाव ‘फेस’ गरेका ठगुन्नाले त्यस बेला हार व्यहोरे। त्यसपछि ०७० र ०७४ को चुनाव भने ठगुन्नाले लगातार जिते। 

यसपटक पनि बाजी मार्दै ‘ह्याट्रिक’ सहित एमालेको जितलाई निरन्तरता दिने दाउमा छन्, उनी। ०७४ चुनावको जितको सारथी माओवादी केन्द्र अहिले कांग्रेसको पोल्टामा गएको छ। गठबन्धनविरुद्ध स्थानीय तहको निर्वाचनमा हासिल गरेको नतिजाले एमाले हौसिएको छ। ‘एमाले सांगठनिक रूपमा बलियो छ, जस्तोसुकै गठबन्धन भए पनि केही फरक पर्दैन’, एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले भने, ‘एमालेको जित सुनिश्चित छ।

स्थानीय तह निर्वाचनको मतपरिणामका आधारमा दार्चुलामा गठबन्धनविरुद्ध नेकपा एमाले बलियो देखिएको छ। गठबन्धन विरुद्ध एक्लै चुनावमा होमिएको एमालेले स्थानीय तह चुनावमा दार्चुलामा ‘अद्धभुत’ नतिजा ल्याएको छ। 

दार्चुलामा जम्मा ९ स्थानीय तहमध्ये एमालेले शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, मालिकार्जुन, दुहुँ र व्यास गाउँपालिका गरेर ५ पालिकाको प्रमुखमा बाजी मारेको छ। अन्य ४ पालिका अपिहिमाल, लेकम, नौगाड र मार्मा गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ। नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा कुनै पनि पालिका प्रमुख पद जित्न सकेन ।

यस्तै ९ पालिकाका कूल ६१ वडामध्ये ३४ वटामा एमालेले जितेको छ। गठबन्धनमा आबद्ध कांग्रेसले १७ र माओवादी केन्द्रले १० वटा वडामा जितेका छन्। सत्ता गठबन्धनले जितेको कूल वडा संख्या २७ छ। जुन एमालेको भन्दा कम हो। 

स्थानीय तहको मतपरिणाम हेर्दा अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सत्ता गठबन्धन र एमालेबीच दार्चुलामा कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।

स्थानीय तहको निर्वाचन मतपरिणामअनुसार एमालेको वडागत मत २९ हजार ३९७ छ। यस्तै कांग्रेसको २१ हजार ५५४ हुँदा माओवादी केन्द्रको ७ हजार ८८१ छ। अन्य राजनीतिक दलको उपस्थिति भने कमजोर छ। 

दार्चुलामा सत्तारुढ गठबन्धनका तर्फ प्रदेश सभा ९१० मा कांग्रेसका विक्रमसिंह धामी र प्रदेश सभा ९२० मा माओवादी केन्द्रका नेता समेत रहेका सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी (सन्तोष) उम्मेदवार छन्। यस्तै, नेकपा एमालेबाट प्रदेश सभा (१) मा हरदेव जोशी र प्रदेश सभा (२) मा रामदत्त जोशी उम्मेदवार छन्। 

दार्चुला कांग्रेसको राजनीति वर्षौंदेखि आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको वरिपरि घुमिरहेको छ। उनी पार्टीभित्र संस्थापन इतर कोइराला निकट मानिन्छन्। ०४८ देखि ०७० सम्म दार्चुलाबाट पाँचपटक प्रत्यक्षतर्फ संसदीय चुनाव लडेका बडूले ०४८ र ०५६ मा गरेर दुईपटक मात्रै जितेका छन्। उनले हारमा ‘ह्याट्रिक’ नै गरेका छन्।

वि.सं. २०५१ सालको चुनावमा पहिलोपटक हार बेहोरेका बडूले ०६४ र ०७० को चुनाव पनि गुमाए। ०७४ सालको चुनावमा परिस्थिति प्रतिकूल देखेपछि बडू समानुपातिकतर्फ लागेका थिए। त्यसबेला कांग्रेस नेता विक्रम धामी प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनाव लडेका थिए। 

यसपटक बडू सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेर चुनावमा होमिएका छन्, भने ठगुन्ना पनि उम्मेदवार बनेर चुनावमा होमिएका छन्। 

प्रतिक्रिया