Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:३९

दार्चुलामा वृहत स्वास्थ्य शिविर सम्पन्न, दुइ हजार बढिले पाए नि:शुल्क स्वास्थ्य सेवा

सम्बाददाता सम्बाददाता
शुक्रबार, कार्तिक ०४, २०७९
दार्चुलामा वृहत स्वास्थ्य शिविर सम्पन्न, दुइ हजार बढिले पाए नि:शुल्क स्वास्थ्य सेवा

दार्चुलामा तीनओटा स्थानीय तहमा गत असोज ३० गतेदेखि सञ्चालित बृहत एवम् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

सुदूर स्वास्थ्य निदान पालिका स्तरीय बृहत स्वास्थ्य शिविर को गत असोज ३० र ३१ गते शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा, कार्तिक १ र २ गते मालिकार्जुन गाउँपालिकाको शंकरपुर पस्तीमा तथा कार्तिक ३ र ४ गते जिल्ला सदरमुकाम खलंगामा गरि छैठौं दिनमा आज सम्पन्न भएको हो । 

शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकाको आयोजना, युथ भोलिन्टर ग्रूपको संयोजन र बिर अस्पत्तालको प्राविधिक सहयोगमा जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरिएको युथ भोलिन्टर ग्रूपका संयोजक दिवानसिंह धामीले बताए। 

गत असोज ३० र ३१ गते शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा सम्पन्न शिविरमा ४ सय ३४ जनाले सेवा पाएको शैल्यशिखर नगरपालिका स्वास्थ्य शाखा संयोजक शिवदत्त जोशीले बताए। 

कात्तिक १ र २ गते पस्तीमा आयोजित शिविरबाट ७ सय ४३ बिरामीले उपचार तथा परामर्श सेवा पाएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जानकारी दिए। 

कात्तिक ३ र ४ गते दार्चुला सदरमुकाम खलंगामा शिविर सञ्चालन गरिएको थियो । जसमा दुइ दिनमा ८ सय २५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको महाकाली नगरपालिकाले जनाएको छ । 

यसैबिच जिल्लाका तीनओटा स्थानीय तहमा ६ दिनसम्म चलेको वृहत स्वास्थ्य शिविरबाट २ हजार २ जनाले निशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको ग्रूपका संयोजक धामीले बताएका छन् । शिविरमा दार्चुलाका ९ वटै स्थानीय तह सहित छिमेकी जिल्ला बैतडीको डिलासैनी, दोगडाकेदार तथा छिमेकी देश भारतका जनताले समेत स्वास्थ्य सेवा लिएको तथा जटिल प्रकृतिका बिरामीको शल्यक्रिया गरिएको उनले बताए ।

स्थानीय तहहरुको आयोजना, युथ भोलिन्टर ग्रूपको संयोजन र बिर अस्पत्तालको प्राविधिक सहयोगमा जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरिएको शिविरका संयोजक धामीले बताए। 

"संबिधानले स्वास्थ्यलाई समान पहुँच र निःशुल्क बनाउने मौलिक हकको रुपमा राखे पनि देशको भौगोलिक बिकटता, स्वास्थ्य उपकरणको अभाव, स्वास्थ्य जनशक्तिको अभावकै कारण सबै ठाउँमा पहुँच र निःशुल्क गर्न नसकिएको अवस्थामा स्थानीय स्तरबाट पहुँच भए जनसमुदाय सम्म पुर्याउन सकिन्छ भन्ने उदेश्यका निम्ति हामीले उक्त कार्यक्रमलाई संचालन गर्न समन्वय गरेका हौँ ।", उनले भने, "यहाँबाट टाढा गएर बिशेषज्ञ डक्टरहरुसंगको पहुँचमा पुग्न नसकेको समुदाय स्तरमा स्वास्थ्यको परामर्श दिन र स्थानीय स्तरमै बिरामीहरुको रोग पत्ता लगाएर कुनै गम्भिर खालका बिरामी, आर्थिक अवस्था कमजोर भई उपचार गर्न नपाएका बिरामीहरुलाई आर्थिक भार नपर्ने गरी शिविरका माध्यमबाट विषेशज्ञ चिकित्सकीय सेवा दिने प्रयास गरेका हौं ।"

शिविरमा वरिष्ठ हाड जोर्नि तथा नसा रोग सम्बन्धि विषेशज्ञ डा. बिजय गुरुङ, महिला प्रजनन तथा स्त्रीरोग विषेशज्ञ डा. केसब आचार्य, मानसिक रोग विषेशज्ञ डा. ईश्वरी खनाल, जनरल एन्ड प्लास्टिक सर्जन डा.निरन महर्जन र फिजियोथेरापिस्ट धनेन्द्र नाथले चिकित्सकीय सेवा दिएका थिए । 

शिविरमा उपचार तथा परामर्श निःशुल्क गरिएको थियो । 

यसैबिच दार्चुलामा आएर विषेशज्ञ चिकित्सकीय सेवा प्रदान गरेको उल्लेख गर्दै स्थानीय पालिकाहरुले चिकित्सकसहितको टोलिलाई बुधबार सम्मानसहित मायाको चिनो प्रदान गरेर बिदाइ गरेको छ ।

प्रतिक्रिया