Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:११

दार्चुलाका २ स्थानीय तहमा स्वास्थ्य शिविर सम्पन्न, सदरमुकाम खलंगामा आजदेखि

चार दिनमा १ हजार १ सय ७७ जनाले लिए विषेशज्ञ चिकित्सकीय सेवा
सम्बाददाता सम्बाददाता
बिहिबार, कार्तिक ०३, २०७९
दार्चुलाका २ स्थानीय तहमा स्वास्थ्य शिविर सम्पन्न, सदरमुकाम खलंगामा आजदेखि

दार्चुलामा गत असोज ३० गते देखि बृहत एवम् निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । कात्तिक ४ गते सम्म सञ्चालन हुने 'सुदूर स्वास्थ्य निदान पालिका स्तरीय बृहत स्वास्थ्य शिविर' को सोमबार गोकुलेश्वर र  बुधबार मालिकार्जुन गाउँपालिकाको शंकरपुर पस्तीमा समापन गरेर स्वास्थ्यकर्मीको टोली दार्चुला सदरमुकाम खलंगा पुगेको छ ।

दार्चुलाका तीन स्थानीय तहमा आयोजना भइरहेको स्वास्थ्य शिविर दुई पालिकामा सम्पन्न भइसकेको तथा बिहिबार र शुक्रबार दार्चुला सदरमुकाम समेत रहेको महाकाली नगरपालिका–४ खलंगास्थित महेन्द्र नमूना माद्यमिक विद्यालयमा आयोजना गरिने यूथ भोलिन्टियर गू्रपका संयोजक दिवानसिंह धामीले जानकारी दिए। 

कात्तिक १ र २ गते पस्तीमा आयोजित शिविरबाट ७ सय ४३ बिरामीले उपचार तथा परामर्श सेवा पाएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जानकारी दिए। गत असोज ३० र ३१ गते शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा सम्पन्न शिविरमा ४३४ जनाले सेवा पाएको शैल्यशिखर नगरपालिका स्वास्थ्य शाखा संयोजक शिवदत्त जोशीले बताए। 

कात्तिक ३ र ४ गते दार्चुला सदरमुकाम खलंगामा शिविर सञ्चालनको तयारी रहेको छ । शिविरबाट चार दिनमा १ हजार १ सय ७७ जना बिरामीले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

स्थानीय तहहरुको आयोजना, युथ भोलिन्टर ग्रूपको संयोजन र बिर अस्पत्तालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भइरहेको शिविरका संयोजक धामीले बताए। 

"संबिधानले स्वास्थ्यलाई समान पहुँच र निःशुल्क बनाउने मौलिक हकको रुपमा राखे पनि देशको भौगोलिक बिकटता, स्वास्थ्य उपकरणको अभाव, स्वास्थ्य जनशक्तिको अभावकै कारण सबै ठाउँमा पहुँच र निःशुल्क गर्न नसकिएको अवस्थामा स्थानीय स्तरबाट पहुँच भए जनसमुदाय सम्म पुर्याउन सकिन्छ भन्ने उदेश्यका निम्ति हामीले उक्त कार्यक्रमलाई संचालन गर्न समन्वय गरेका हौँ ।", उनले भने, "यहाँबाट टाढा गएर बिशेषज्ञ डक्टरहरुसंगको पहुँचमा पुग्न नसकेको समुदाय स्तरमा स्वास्थ्यको परामर्श दिन र स्थानीय स्तरमै बिरामीहरुको रोग पत्ता लगाएर कुनै गम्भिर खालका बिरामी, आर्थिक अवस्था कमजोर भई उपचार गर्न नपाएका बिरामीहरुलाई आर्थिक भार नपर्ने गरी विषेशज्ञ चिकित्सकीय सेवा दिने प्रयास गरेका हौं ।"

शिविरमा वरिष्ठ हाड जोर्नि तथा नसा रोग सम्बन्धि विषेशज्ञ डा. बिजय गुरुङ, महिला प्रजनन तथा स्त्रीरोग विषेशज्ञ डा. केसब आचार्य, मानसिक रोग विषेशज्ञ डा. ईश्वरी खनाल, जनरल एन्ड प्लास्टिक सर्जन डा. निरन महर्जन र फिजियोथेरापिस्ट डा. धनेन्द्र नाथले चिकित्सकीय सेवा दिइरहेका छन् । 

शिविरमा उपचार तथा परामर्श निःशुल्क गरिएको आयोजकले जनाएको छ । शिविरमा बिरामी तथा सेवाग्राहीको भिड लागेको छ । 

यसैबिच दार्चुलामा आएर विषेशज्ञ चिकित्सकीय सेवा प्रदान गरेको उल्लेख गर्दै मालिकार्जुन गाउँपालिकाले चिकित्सकसहितको टोलिलाई बुधबार सम्मानस्वरुप मायाको चिनो प्रदान गरेर बिदाइ गरेको छ ।

प्रतिक्रिया