Wide Nepal News शनिबार ०६, बैशाख २०८२ ११:३५

चरा ठोक्किएको आशंकामा गौतम बुद्ध विमानस्थलमा रोकियो विमान

Wide Nepal News
सोमबार, जेठ ०९, २०७९
कतारबाट नियमित उडान तालिकाअनुरुप उडान भरेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्किएको विमानका चालकले बताएको विमानस्थलका निमित्त महाप्रबन्धक तथा प्रवक्ता श्याम किशोर साहले जनाए । ‘उक्त जानकारी पाउनासाथ तत्काल विमानको जाँच गर्दा जहाजको अगाडि नोजमा र इन्जिन बाहिरको कभरमा रगतको टाटा देखियो‚’ साहले भने, ‘विमानमा चरा ठोक्किएको हुन सक्छ । तर, ठोक्किएको चराको अवशेष भने कतै पनि फेला परेन ।’ विमान र रन-वेमा कतै पनि ठोक्किएको चराको अवशेष फेला नपरेपछि चरा विमानको इन्जिनभित्र पसेको हुन सक्ने शंकाले प्राविधिक जाँच गर्नका लागि विमान रोकिएको उनले बताए । विमानको जाँचका लागि काठमाडौंबाट प्राविधिक आउने र सबै चेकजाँच गरेर विमान सुरक्षित रहेको प्रमाणित भएपछि मात्र बल्ल उडान हुने छ । जजिरा एयरलाइन्सको एयरबस-३२० विमान १ सय २१ जना यात्रु लिएर आइतबार राति २ बजे भैरहवामा अवतरण गरेको थियो । यो विमानले कतार-भैरहवाबीच हवाई उडान गरेको चौथो पटक हो ।

प्रतिक्रिया