Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ १२:३०

कालापानी क्षेत्रमा राज्यको उपस्थिती देखाउन राष्ट्रिय स्तम्भ निर्माण: अध्यक्ष, ब्यास गाउँपालिका

ब्यास गाउँपालिकाको १५ लाख लगानीमा राष्ट्रिय स्तम्भ निर्माण
सम्बाददाता सम्बाददाता
आइतबार, असोज १६, २०७९
कालापानी क्षेत्रमा राज्यको उपस्थिती देखाउन राष्ट्रिय स्तम्भ निर्माण: अध्यक्ष, ब्यास गाउँपालिका

कालापानी क्षेत्रमा दार्चुलाको ब्यास गाउँपालिकाले राष्ट्रिय स्तम्भ निर्माण गरेको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर गाउँपालिकाले त्रीदेशिय सीमानाका छांगरुमा निर्माण गरेको नक्सासहितको राष्ट्रिय चुच्चे स्तम्भको उद्घाटन राष्ट्र प्रमुखले गर्ने भएका छन् ।

सीमा क्षेत्रमा राज्यको उपस्थिती देखाउन एवम् राज्यलाई यस क्षेत्रप्रति झन् उत्तरदायी बनाउन गाउँपालिकाको १५ लाख लगानीमा राष्ट्रिय स्तम्भ निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । 

नेपालको कालापानी क्षेत्र सधैँ भारतको सीमा अतिक्रमण गरेको विषयले चर्चामा आउने गर्दछ । तत्कालीन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा जारी गरेपछि यसको चर्चा थप चुलियो ।

ओली नेतृत्वको सरकारले नक्सा जारी गरे पनि भारतले त्यस क्षेत्रमा जाने सडक निर्माणको काम भने जारी नै राखेको छ । चुच्चे नक्सा जारी गर्ने केपी ओली अहिले सत्तामा छैनन् । तर एमालेबाट स्थानीय सरकारको नेतृत्व गरेको ब्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीको टिमले कालापानी क्षेत्रमा चुच्चे नक्सा समेटिएको राष्ट्रिय स्तम्भ ठड्याएको छ ।

कालापानी क्षेत्रमा बनेको सो स्तम्भ उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी त्यसतर्फ जाने भएकी निश्चित भएको छ । ब्याँस गाउँपालिकाको वडा नम्बर १ छाङरुमा निर्माण भएको स्तम्भ उद्घाटनका लागि असोज २७ गते राष्ट्रपति भण्डारी दार्चुला जाने राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ ।

व्यास गाउँ कार्यपालिका बैठकले गत साउन ९ गते राष्ट्रपति भण्डारीलाई व्यास भ्रमणको निम्तो दिने निर्णय गरेको थियो । त्यसपछि व्यास गाउँपालिका अध्यक्ष, प्रवक्ता लगायत नेताहरूले समेत भेटवार्ताका क्रममा राष्ट्रपति भण्डारीलाई व्यास भ्रमणको निम्तो दिएको बताए ।

अध्यक्ष धामीले कालापानी क्षेत्रमा राज्यको उपस्थिति गराउनका लागि राष्ट्रपतिको भ्रमण महत्त्वपूर्ण रहेको बताए । उनले भने, ‘भारतको अतिक्रमणमा परेको कालापानी क्षेत्रमा निर्माण भएको स्तम्भले ठूलो सन्देश दिएको छ । महामहिमज्यूको हातबाट उद्घाटन भएपछि यहाँ पनि राज्यको उपस्थिति छ भन्ने सन्देश प्रवाह गर्छ ।’

पालिकाले करिब १५ लाख बजेटमा यो स्तम्भ निर्माण गरेको हो । यो ठाउँ व्यास ऋषिको मन्दिरका कारण पनि महत्त्वपूर्ण छ ।

यसअघि राष्ट्रपति भण्डारी राष्ट्रकै सातौँ धामका रूपमा परिचित मालिकार्जुन मन्दिरको भ्रमणमा २०७६ सालमा दार्चुला पुगेकी थिइन् । अहिले चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ उद्घाटनका लागि कालापानी क्षेत्रमा उनको उपस्थिति हुनुलाई महत्त्वका साथ हेरिएको छ ।

प्रतिक्रिया