Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०६:३५

संसदीय निर्वाचनमा गठबन्धनबाट माओवादीका विजय सुन्दर उम्मेदवार, बैतडी काँग्रेसमा असन्तुष्टी

सम्बाददाता सम्बाददाता
शुक्रबार, असोज १४, २०७९
संसदीय निर्वाचनमा गठबन्धनबाट माओवादीका विजय सुन्दर उम्मेदवार, बैतडी काँग्रेसमा असन्तुष्टी

आगामी मसिंर ४ मा हुने संसदीय निर्वाचनमा सत्ता साझेदार दलहरुले बिहीबारप्रतिनिधि सभातर्फको १ सय ६० सिटमा सहमति जुटाएको छ ।उक्त सहमति अनुसार बैतडी नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।

बैतडीमा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधी सभामा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र कुवँर (विजयसुन्दर)ले टिकट पाउने निश्चित जस्तै भएको  छ । यसअघि उनको नाम पार्टीले सर्वसम्मत सिफारिश गरेको थियो ।

कुँवर २०६४ सालको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । गठबन्धनका तर्फबाट बैतडी माओवादी केन्द्रको  भागमा परेपनि काँग्रेसका नेताहरुले भने विरोध गरेका छन् । नेपाली काँग्रेसका जिल्ला स्तरका नेताहरुले गठबन्धनबाट संघको टिकट कांग्रेशको भागमा नपरे एक्लै चुनावमा जाने निर्णय समेत गरेका छन् । 

बैतडीमा गठबन्धनबाट  संघको  सिट माओवादीको  भागमा परेपछि काँग्रेसका नेता तथा कार्यकर्ताहरुले असन्तुष्टी व्यक्त गरेका छन् । काँग्रेसले  संघको टिकट पाउनु पर्ने  माग राख्दै आएका उनिहरु केन्द्रको सहमतिले असन्तुष्ट देखिएका हुन् । 

काँग्रेसका नेता तथा कार्यकर्ताहरु माओवादीले टिकट  पाए भोट नै नहाल्ने अभिव्यक्ती दिइरहेका हुन् । प्रतिनिधि सभातर्फ १६ सिट रहेको सुदूरपश्चिममा ९ सिट काँग्रेसले  पाएको  छ भने  ४ सिट माओवादीको  भागमा परेका हुन् । यस्तै एकीकृत समाजवादीले ३ क्षेत्र पाएको छ ।

गठबन्धनको सहमति अनुसार प्रतिनिधि सभातर्फ जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चिति छ । काङ्ग्रेसले ८५ सिट लिएको छ । राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको बताइएको  छ ।

गठबन्धनबाट विजयसुन्दर उम्मेदवार भएसंगै प्रतिनिधी सभा निर्वाचनमा उनको एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीसंग कडा टक्कर हुने अनुमान गरिएको छ । भण्डारी यसअघि वि.सं.२०७० र २०७४ सालको संसदीय निर्वाचनमा लगातार दुईपटक विजयी भइसेकका छन् ।

प्रतिक्रिया