Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ०७:२८

विपद जोखिम व्यवस्थापन तालिम दार्चुलाका ८ स्थानीय तहमा सम्पन्न, अपिहिमालमा दशैंपछि गरिने

सम्बाददाता सम्बाददाता
बिहिबार, असोज १३, २०७९
विपद जोखिम व्यवस्थापन तालिम दार्चुलाका ८ स्थानीय तहमा सम्पन्न, अपिहिमालमा दशैंपछि गरिने

विपद जोखिम व्यवस्थापन स्थानीयकरण सम्बन्धि स्थानीय तहको क्षमता अभिबृद्धि तालिम दार्चुलाका ८ वटा स्थानीय तहमा सम्पन्न भएको छ । 

बिहीबार (आज)  शैल्यशिखर नगरपालिकामा विपद जोखिम व्यवस्थापन स्थानीयकरण सम्बन्धि क्षमता अभिबृद्धि तालिम सम्पन्न भएसंगै जिल्लाका अपिहिमाल गाउँपालिका बाहेक ८ वटा स्थानीय तहमा उक्त तालिम सम्पन्न भएको हो । 

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा अमेरिकी अन्तराष्ट्रिय सहायता नियोगको सहयोग अन्तर्गत आप्रवास संगठन मार्फत गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सँगको सहकार्यमा जिल्लाका अपिहिमाल गाउँपालिका बाहेक ८ वटा स्थानीय तहमा तालिम सम्पन्न गरिएको प्रशिक्षक एवम् अपि हिमाल गाउँपालिका विपद व्यवस्थापन शाखा संयोजक पानसिंंह धामीले जानकारी दिए । 

जिल्लाका ९ वटै स्थानीय तहमा संञ्चालन हुने तालिममा विपद् जोखिम सम्बन्धि नेपाल सरकारको नीतिहरु, स्थानीय विपद् जोखिम व्यवस्थापन ऐन, स्थानीय विपद् जोखिम व्यवस्थापन समितिको काम र कर्तव्यहरु, पूर्व चेतावनी प्रणाली, जोखिमको वित्तीय व्यवस्था, जोखिम हस्तान्तरण संयन्त्र तथा स्थानीय तहमा विपद् जोखिम व्यवस्थापन कोष सञ्चालन कार्यविधि जस्ता विषयमा सहभागीहरुलाई जानकारी दिइरहेका छन् । 

तालिममा सिकाईसँगै नगरपालिका तथा गाउँपालिकाहरुमा विपद् व्यवस्थापनका लागि कार्य योजना समेत तयार पारिएको छ ।

विपद व्यवस्थापनको पृष्ठभूमि, स्थानीय तहले बनाउनु पर्ने कानुन तथा कार्यविधी, स्थानीय तहको दायित्व, विपद सामना गर्नका लागि आवश्यक योजना जलवायु उत्थानशील योजना, विपद प्रतिकार्य योजना  प्रतिकार्य गर्नका लागि आवश्यक सामग्री तथा उक्त सामग्री उपलब्ध हुने स्थान साथै संस्थाहरूको जानकारी, खुला क्षेत्र पहिचान, शिविर व्यवस्थापन र न्यूनतम मानवीय आधारभूत मापदण्ड लगायतका विषयमा तालिममा प्रस्तुतीकरण गरिएको प्रशिक्षक धामीले बताए । 

विपद जोखिम व्यवस्थापन स्थानीयकरण सम्बन्धि स्थानीय तहको क्षमता अभिबृद्धि तालिम हालसम्म जिल्लाको शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका,लेकम, व्यास, दुहुँ, मार्मा, नौगाड गाउँपालिकामा सम्पन्न भएको तथा अपिहिमाल गाउँपालिकामा दशैं लगत्तै तालिमको आयोजना गरिने बताइएको छ । 

जिल्लामा विपद् जोखिम व्यवस्थापन सम्बन्धी तालिम लिएका प्रशिक्षक पानसिंह धामी, गणेश राज जोशी, कृष्ण ठगुन्ना लगायतले प्रशिक्षण दिइरहेका छन्। 

प्रतिक्रिया