Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:१५

सचिवालय सुदृढीकरण पहिलो काम : नवनिर्वाचित मेयर हमाल

Wide Nepal News
सोमबार, जेठ ०९, २०७९
सुदूरपश्चिम प्रदेशको एक्लो उपमहानगरपालिका धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले विजयी भएका छन् । उनले सत्ता गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य एवं निवर्तमान नगरप्रमुख नृपबहादुर वडलाई झन्डै दोब्बर मतले पराजित गरेका हुन् । आँप चुनाव चिह्न पाएका हमालले २६ हजार ८ सय ६५ मत र वडले १४ हजार ८ सय १७ मत पाए । उनै नवनिर्वाचित मेयर हमालसँग गरिएको संक्षिप्त कुराकानी : पद बहालीपछि पहिलो महत्त्वपूर्ण काम के गर्नुहुन्छ ?
मेरो पहिलो प्राथमिकता उपमहानगरपालिकाको सचिवालय सुदृढीकरण गर्नेछ । आर्थिक वर्षको अन्त्यतिर आइपुगेका छौं । चालु आर्थिक वर्षका अधुरा योजना पूरा गर्ने गरी काम गर्नेछौं । भोट माग्दा गरेका वाचा पूरा गर्न कत्तिको चुनौती देख्नुभएको छ ? शिक्षा, स्वास्थ्य सेवा र अव्यवस्थित सहरी क्षेत्रको विकास चुनौतीपूर्ण नै छन् । बेरोजगारी अर्को ठूलो समस्या छ । जसरी पनि धनगढी बनाउने योजना हो । चरणबद्ध रूपमा सबैबाट सहयोग लिएर अघि बढ्छु । विकासका कुरा गर्दा सबै काम एकैपटक सम्भव छ र ? म आफू पूर्णरूपले समर्पित भएर काममा जुट्छु । विकासको कुरा गर्दा प्रणालीको विकास प्रमुख कुरा हो । सचिवालयलाई जवाफदेही बनाएर नगरको पञ्च वर्षीय योजनासँगै गुरुयोजना तयार गरेर अघि बढ्ने मेरो प्रतिबद्धता छ । नगरका प्रमुख समस्या के हुन् ? अव्यवस्थित सहरीकरण प्रमुख समस्या हो । ऐलानी जग्गा व्यवस्थापन, तटबन्ध निर्माण, ढल निकासजस्ता सहरी क्षेत्रका समस्या समाधान गर्नका लागि हामी योजनाबद्ध तरिकाले अगाडि बढेमा पक्कै समाधान हुने विश्वास छ ।

प्रतिक्रिया