Wide Nepal News शनिबार ०८, बैशाख २०८१ ०६:०५

महाकालीमा मोटरेबल पुल निर्माणले त्रीदेशिय व्यापार र समृद्धिको ढोका खुल्छ : मन्त्री बडू

सम्बाददाता सम्बाददाता
सोमबार, असोज ०३, २०७९
महाकालीमा मोटरेबल पुल निर्माणले त्रीदेशिय व्यापार र समृद्धिको ढोका खुल्छ : मन्त्री बडू

भारत सरकारको लगानीमा दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुल शिलान्यास गरिएको छ । 

जिल्लाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुलाको छारछुम जोड्ने गरी सोमबार महाकाली नदीमाथि निर्माण गरिने पुलको शिलान्यास गरिएको हो । 

नेपालका तर्फबाट सरकारका उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र भारतका तर्फबाट उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री  पुष्करसिंह धामीद्धारा मोटरेबल पुलको सोमबार दिउँसो शिलान्यास गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । 

भारत सरकारको लगानीमा निर्माण हुने पुलको शिलान्यास समारोहमा नेपालका लागि भारतीय राजदुतावासका प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कर्मचारी र स्थानीय सहभागी थिए । 

उक्त समारोहमा महाकाली नदीको समेत पुजा गरिएको छ ।

नेपालतर्फ पुलको शिलान्यास गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बडूले सुदूर पहाडमा पहिलोपटक नेपाल-भारत जोड्ने मोटर पुल बन्न लागेको बताए । 

"यसअघि कञ्चनपुर, कैलालीमा पुल भएपनि पहाडी जिल्लामा दुई देश जोड्ने पक्की पुल बनेको थिएन ।" मन्त्री बडूले थपे, "दार्चुलामा पुल बनेसंगै सुदूरपहाडको समृद्धिको ढोका खुल्छ । दार्चुला त्रीदेशीय सीमा जोडिएको जिल्ला पनि भएकोले त्रीदेशीय (नेपाल-भारत-चीन) व्यापारको समेत ढोका खुलेको छ । 

पुल निर्माण सम्पन्न भइसकेपछि सरकारी र नागरिक स्तरमा दुई देशको सम्बन्ध मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडिबुटी, धातु र कच्चापदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने विश्वास गरिएको छ । विक्रम संवत २०४८ सालदेखि नै पुल निर्माण गर्ने चाहाना र पहल भएपनि अहिले आएर मात्रै (एमओयु) मा हस्ताक्षर भएर प्रकृया अगाडि बढेको मन्त्री बडूले बताए ।

महाकालीमा मोटरपुल निर्माण भएपछि दार्चुला, बैतडी, बझाङ लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने मन्त्री बडूले उल्लेख गरेका छन् ।  ।

यसअघि पटकपटक महाकालीमा नेपाल(भारत जोड्ने पक्की पुल निर्माणका लागि प्रकृया अघि बढेपनि निर्माण कार्य सुरु हुन सकेको थिएन । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पुल निर्माणको सर्भे भएर निर्माण कार्यको थालनी नहुदै टेण्डर रद्ध गरिएको थियो ।

तत्पश्चात् पनि पुल निर्माणको विषयमा पटकपटक दुई देशबिच छलफल भएपनि निर्माण कार्य अघि बढ्न सकेको थिएन । पछिल्लो समय गत महिना मात्रै पुल निर्माणको टेन्डर कार्य सम्पन्न भएको छ ।

दार्चुलामा महाकाली नदीमाथि भारतसंग जोड्ने सात वटा झोलुंगे पुलहरु सञ्चालनमा रहेका छन् । दुई वटा पुलहरु निर्माणाधिन अवस्थामा रहेका छन् भने थप केही पुलहरु निर्माणका लागि पहल भइरहेको छ । तर मोटरेबल पुल नहुदा कनेक्टिभिटीमा कतिपय समस्याहरु कायमै रहेका छन् । 

"दार्चुलामा नेपाल भारत जोड्ने मोटरेबल पुल नहुँदा भारतसंगको कनेक्टिभिटीमा केही कमि महसुस भइरहेको छ ।", प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने, "विशेषगरी दार्चुला जिल्ला अस्पतालबाट रेफर भएका विरामीहरुलाई पिथौरागढ लैजाने प्रवृति देखिएको छ । मोटर पुल भए सहज रुपमा त्यहाँ गएर उपचार गर्न सम्भव हुन्थ्यो । "

त्यसैगरी दुबै देशको आर्थिक, सामाजिक, धार्मिक सम्बन्ध मजबुत बनाउन समेत पुल महत्तपूर्ण हुने उनको बुझाइ छ । 

पुल निर्माण हुने चर्चा चलेको बर्षौ भएपनि अहिले शिलान्यास भएकोले छिट्टै पुल निर्माण सम्पन्न हुने आशा पलाएको स्थानीय भुवन जोशीले बताए । जोशीले पुल छिटो निर्माण गरिदिन स्थानीयले अनुरोध गरेका छन् ।

यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई बलियो बनाउन तथा दुवैतर्फको समुदायबीच रहेको सम्बन्ध र सम्पर्कलाई थप मजबुत बनाउन भूमिका खेल्ने महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसीरले बताए । नेपाल–भारत आउजाउ गर्न दार्चुलाको महाकाली नदीमा झोलुंगे पुल र धेरै स्थानमा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्छ । मोटरेबल पुल निर्माण भए आउजाउमा सजिलो हुनाका साथै सडक यातायात र मालसामान ढुवानीमा पनि सहज हुने स्थानीयहरूको प्रतिक्रिया छ ।

प्रतिक्रिया