Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०२:२७

महाकालीमा मोटरपुलः मन्त्री बडू र उत्तराखण्डका मुख्यमन्त्री धामीले शिलान्यास गर्ने

सम्बाददाता सम्बाददाता
सोमबार, असोज ०३, २०७९
महाकालीमा मोटरपुलः मन्त्री बडू र उत्तराखण्डका मुख्यमन्त्री धामीले शिलान्यास गर्ने

दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण हुने भएको छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको छारछुम जोड्ने गरी महाकाली नदीमाथि पुल बनाउन लागिएको हो ।

मोटरेबल पुल निर्माणको शिलान्यास सोमबार (आज) हुन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । उनका अनुसार नेपालतर्फ उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले शिलान्यास गर्ने तयारी छ ।

आज विहान ११ बजे पुलको शिलान्यास गर्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलामा महाकाली नदीमाथि भारतसंग जोड्ने सात वटा झोलुंगे पुलहरु सञ्चालनमा रहेका छन् । दुई वटा पुलहरु निर्माणाधिन अवस्थामा रहेका छन् भने थप केही पुलहरु निर्माणका लागि पहल भइरहेको छ ।

तर मोटरेबल पुल नहुदा कनेक्टिभिटीमा कतिपय समस्याहरु कायमै रहेका छन् । 'मोटरेबल पुल नभएको कारणले गर्दाखेरि भारतसंगको कनेक्टिभिटीमा केही कमि महसुस भइरहेको छ ।', प्रजिअ उपाध्यायले भने, 'विशेषगरी दार्चुला जिल्ला अस्पतालबाट रेफर भएका विरामीहरुलाई पिथौरागढ लैजाने प्रवृति देखिएको छ ।'

मोटर पुल भए सहज रुपमा त्यहाँ गएर उपचार गर्न सम्भव हुन्थ्यो । त्यसैगरी दुबै देशको आर्थिक, सामाजिक, धार्मिक सम्बन्ध मजबुत बनाउन समेत पुल महत्तपूर्ण हुने उनको भनाई छ ।

यसअघि पटकपटक महाकालीमा नेपाल भारत जोड्ने पक्की पुल निर्माणका लागि प्रकृया अघि बढेपनि निर्माण कार्य सुरु हुन सकेको थिएन । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पुल निर्माणको सर्भे भएर निर्माण कार्यको थालनी नहुदै टेण्डर रद्ध गरिएको थियो । त्यसपछि पनि पुल निर्माणको विषयमा पटकपटक दुई देशबिच छलफल भएपनि निर्माण कार्य अघि बढ्न सकेको थिएन ।

पछिल्लो समय गत महिना मात्रै पुल निर्माणको टेन्डर कार्य सम्पन्न भएको छ । यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई बलियो बनाउन तथा दुवैतर्फको समुदायबीच रहेको सम्बन्ध र सम्पर्कलाई थप मजबुत बनाउन भूमिका खेल्ने सरोकारवालाहरु बताउछन् ।

नेपाल–भारत आउजाउ गर्न दार्चुलाको महाकाली नदीमा झोलुंगे पुल र धेरै स्थानमा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्छ । मोटरेबल पुल निर्माण भए आउजाउमा सजिलो हुनाका साथै सडक यातायात र मालसामान ढुवानीमा पनि सहज हुने स्थानीयले बताए ।

भारत र चीनसंगको व्यापार वृद्धिकालागि महाकाली नदीमा मोटरपुल आवश्यक रहेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताए । महाकालीमा मोटरपुल निर्माण भएपछि दार्चुलाका साथै बैतडी र बझाङसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने मन्त्री बडूको भनाई छ ।

सुदूरपश्चिममा भारतसँग सीमा जोडिएको कञ्चनपुरपछि दार्चुलामा दोस्रो मोटरपुल निर्माण हुन लागेको हो ।

प्रतिक्रिया