Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १०:२४

धनगढीमा अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल

सम्बाददाता सम्बाददाता
शुक्रबार, भदौ ३१, २०७९
धनगढीमा अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल

सत्याग्रही डाक्टर गोविन्द केसीको स्वास्थ्यमा थप समस्या देखा परेको छ।

धनगढीमा जारी सत्याग्रहको शुक्रबार पाँच दिन पुग्दा सेती प्रादेशिक अस्पतालले डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अवस्था जटिलतर्फ गइरहेको जनाइएको छ।

२० औं सत्याग्रह गर्न धनगढी आएका डाक्टर केसीले सोमबारदेखि सत्याग्रह थालेका हुन्। शुक्रबार सत्याग्रहको पाँचौं दिन हुँदा डाक्टर केसीको स्वास्थ्य अवस्था थप बिग्रदै गएको छ। 

सेती प्रादेशिक अस्पतालले टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, मांसपेशी दुख्ने, बाउडीने र मुटुको धडकनमा गडबढी हुने समस्या देखा परेको जनाएको छ।

अस्पतालका अनुसार डाक्टर केसीको रक्तचाप घटेर ९० र ६० हाराहारीमा पुगेको, श्वासप्रश्वास दर बढ्दै गएको  र शरीरको तौल घट्दै गएको छ।

प्रयोगशाला रिपोर्टमा सुगरको मात्रा ४१ पुगेको क्याल्सियम, फस्पोरस र म्याग्नेसियम कम र पिसाबमा किटोनबडी बढ्दै गएको देखिएको अस्पतालले जनाएको छ।

डाक्टर केसीलाई शुद्ध पानी, नर्मल स्लाइन र रिङ्गर ल्याक्टेट मात्र प्रदान गरिएको र चिकित्सक टोलीबाट नियमित स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जनाएको छ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि धनगढीमा २० औं सत्याग्रहमा बसेका डाक्टर केसीसँग वार्ता गर्न सरकारले कुनै औपचारिक प्रक्रिया थालेको छैन। लामो समयसम्म सरकारले वार्ता गर्न उदासिन भए डाक्टर केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिने चिन्ता गरिएको छ। अस्पतालले भेटघाटमा पनि रोक लगाएको छ।

प्रतिक्रिया