Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १०:०८

चुनाव प्रचारको १५ दिन मदिरा बिक्री रोक्ने प्रस्ताव

सम्बाददाता सम्बाददाता
मङ्गलबार, भदौ २८, २०७९
चुनाव प्रचारको १५ दिन मदिरा बिक्री रोक्ने प्रस्ताव

सांसदहरुले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन प्रचार प्रसारको १५ दिन अवधिमा जाँडरक्सीको सार्वजनिक बिक्री रोक्न प्रस्ताव गरेका छन्।

मंसिर ४  मा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि १५ दिन समय दिने गरी निर्वाचन आयोगले कार्यतालिका तय गरेको छ। सांसदहरुले यो १५ दिन अवधिमा जाँडरक्सी बिक्रीमा रोक लगाउनुपर्ने प्रस्ताव गरेका हुन्।

सोमबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले प्रदेश सभा र प्रतिनिधिसभा सदस्य चुनावको उम्मेदवारमा महिला सहभागिताको विषयमा छलफल गरेको थियो।

छलफलका क्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले भने, प्रचारको १५ दिन मदिरा पुर्णत बन्द गरौं। रक्सी खाएर कुटाकुट मात्रै हुन्छ।’

नेकपा एमालेका सांसद विमला विकले पनि चुनाव प्रचारको १५ दिन नै मदिरा र मदिराजन्य पदार्थको बेचबिखनमा रोक्ने प्रस्ताव राखिन्। यसो गरे चुनाव प्रचार प्रसार व्यवस्थित हुनुका साथै खर्च पनि घट्ने उनको भनाइ छ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार निर्वाचन आचारसंहितामा मतदानको तीन दिन अघिदेखि बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म भोजभतेर गर्न पाइदैन। त्यस्तै मदिरा बिक्री वितरण गर्न पनि पाइदैन।

१५ दिन नै जाँडरक्सी बिक्रीमा रोक लगाउने प्रस्ताव पनि उचित भएको थपलियाले बताए। ‘मदिरा निषेधका लागि १५ दिनको प्रस्ताव आएको छ। मलाई त सधैं बन्द गरिदिए हुन्छ। तर, मदिराप्रेमी महानुभाव रिसाउनु हुन्न भने १५ दिन राखौं’ थपलियाले भने।

प्रतिक्रिया