Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०५:१४

दार्चुलाका बाढी पहिरो पीडितलाई 'वाइसीएल' को मल्हम : नगदसहित राहत सामग्री सहयोग

सम्बाददाता सम्बाददाता
मङ्गलबार, भदौ २८, २०७९
दार्चुलाका बाढी पहिरो पीडितलाई 'वाइसीएल' को मल्हम : नगदसहित राहत सामग्री सहयोग

दार्चुला :अविरल वर्षाका कारण शुक्रबार राति गएको विध्वंसक बाढी पहिरोमा जनधन गुमाएका दार्चुलाका प्रभावितलाई नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) ले राहत सामग्री सहयोग  गरेको छ । 

'वाइसीएल' केन्द्रीय कमिटीले सोमबार आज दार्चुला पुगेर जिल्ला प्रशासन कार्यालयमार्फत १ लाख नगदसहित ५ लाख बराबरको राहत सामग्री वितरणका लागि प्रमुख जिल्ला अधिकारी एवम् विपद जोखिम व्यवस्थापन समिति संयोजक दीर्घराज उपाध्यायलाई हस्तान्तरण गरेका हुन् ।

राहत सामग्री बोकेर सोमबार वाइसीएलका केन्द्रीय सदस्यत्रय एवम् सुदूरपश्चिम प्रदेश संयोजक शिव बोगटी, बसन्त कार्की (विशाल), सुरज खाती सहित नौगाड गाउँपालिकाका प्रवक्ता राजेन्द्र बोहरा, वाइसिएलका शैल्यशिखर संयोजक चुडामणी साउँद सदरमुकाम खलंगा पुगेका थिए । 

वाइसीएल केन्द्रीय कमिटीले प्रभावितलाई राहतस्वरुप १३ थान टेन्ट, १ सय थान कम्बल, २० वटा बाल्टिन, १ बण्डल पिफर्म कार्पेट र १ लाख नगद आर्थिक सहयोग गरेको केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश संयोजक शिव बोगटीले बताए । 

अप्ठ्यारो समयमा बाढी पहिरो प्रभावितलाई 'वाइसीएल'ले सहयोग गरेको भन्दै प्रमुख जिल्ला अधिकारी उपाध्यायले धन्यवाद ज्ञापन गरे । 

शुक्रबार एकैरात जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा आएको प्राकृतिक प्रकोपमा परि ५ जनाले ज्यान गुमाएका छन्, १० जना अझै बेपत्ता रहेका छन् भने ८ जना घाइते छन् । ३ सय ६३ चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

बाढीले ४० घरमा पूर्ण क्षती सहित ९१ घर विस्थापित गरेको छ । १ विद्यालय, २ झोलुङ्गे पुल तथा ९ सवारीसाधन बगाएको छ ।

प्रतिक्रिया