Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:४५

नेपाल टी-२० लिगमा भिड्ने ६ टिम सार्वजनिक, अरू लिगलाई राष्ट्रिय मान्यता नदिने निर्णय

Wide Nepal News
बुधबार, जेठ ११, २०७९
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी असोजमा सञ्चालन गर्न लागेको नेपाल टी-२० लिगमा ६ टिमबीच प्रतिस्पर्धा हुने भएको छ। क्यानको हिजो सम्पन्न बोर्ड बैठकले विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा र फार वेस्टर्नबीच प्रतिस्पर्धा गराउने निर्णय गरेको हो। ६ प्रदेशका टिम समावेश भए पनि कर्णालीको प्रतिनिधित्व गर्ने टिम भने समावेश गरिएको छैन। यस्तै क्यानले अरू लिगलाई राष्ट्रिय लिगको मान्यता नदिने पनि निर्णय गरेको छ। ‘नेपालमा हालसम्म सञ्चालनमा रहेका अन्य फ्रेञ्चाइज लिगहरूले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने र संघको आफ्नै आधिकारिक लिग सञ्चालन हुने भएकाले अन्य कुनै पनि लिगहरूलाई राष्ट्रिय मान्यता प्राप्त लिगको रूपमा मान्यता नदिने तर क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिन सकिनेछ,’ क्यानको निर्णयमा भनिएको छ। यसअघि काठमाडौंमा एभरेस्ट प्रिमियर लिग, पोखरामा पोखरा प्रिमियर लिग र धनगढीमा धनगढी प्रिमियर लिग सञ्चालन हुँदै आएका थिए। तीनै लिग क्यान निलम्बनको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट अनुमति लिएर सञ्चालन भएका थिए। यस्तै अप्रिल १ देखि लागू हुने गरी राष्ट्रिय क्रिकेट टिमका पुरुष तथा महिला खेलाडीहरू, मैदान कर्मचारीहरू, मैदान कार्यालय सहयोगी र टियु मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक वृद्धि गरिएको छ। जसमा राष्ट्रिय क्रिकेट टिमका (पुरुष) सेन्ट्रल कन्ट्रयाक्टमा रहने सम्पूर्ण खेलाडीहरूको मासिक पारिश्रमिक १० हजारले वृद्धि गरिएको छ। महिलातर्फ सी श्रेणीमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ५ हजार, बी र ए श्रेणीमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गरिएको छ। यसअघि पुरूषतर्फ ‘ए’ श्रेणीमा रहेका क्रिकेटरले मासिक ५० हजार, ‘बी’ श्रेणीका क्रिकेटरले मासिक ४० हजार र ‘सी’ श्रेणीका क्रिकेटरले मासिक ३० हजार रुपैयाँ पाउँदै आएका थिए। महिलातर्फ ‘ए’ श्रेणीमा रहेका क्रिकेटरको मासिक १५ हजार, ‘बी’ श्रेणीका क्रिकेटरको मासिक १२ हजार र ‘सी’ श्रेणीका क्रिकेटरको मासिक १० हजार रुपैयाँ तलब थियो। त्यसैगरी सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक रु ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक रु ५ हजारले वृद्धि गरिएको छ भने टियु मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक रु ६ हजारले वृद्धि गरिएको छ।

प्रतिक्रिया