Wide Nepal News आइतबार ०६, जेठ २०८१ ०६:०५

सन्दीपलाई विमानस्थलबाटै पक्राउ गर्न प्रतीक्षामा प्रहरी, कहिले फर्किन्छन् नेपाल ?

सम्बाददाता सम्बाददाता
शनिबार, भदौ २५, २०७९
सन्दीपलाई विमानस्थलबाटै पक्राउ गर्न प्रतीक्षामा प्रहरी, कहिले फर्किन्छन् नेपाल ?

नाबालिग माथि जबरजस्ती गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने कहिले नेपाल फर्किएलान् ? विदेशबाट फर्किँदा सधैं भब्य स्वागत पाउने सन्दीपको प्रतीक्षामा रहेको प्रहरीले उनलाई के गर्ला ?

प्रश्नहरु धेरै मानिसको चासोको विषय बनेको छ। नेपालको राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने भदौ ६ गते टी २० को मैत्रीपूर्ण खेलका लागि केन्या उडेका थिए।

त्यहाँ एक दिवशीय खेल नखेल्दै उनी क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसिया पुगे। खेल अझै जारी छ। तर, खेलमा तत्काल विश्राम लिनु उनको बाध्यता बनेको छ। 

गत मंगलवार एक नाबालिग किशोरी (१७ वर्षीया) माथि करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक संकटमा पुगेका छन्। उजुरीलगत्तै प्रहरीले लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न सुरु गरेको थियो। अहिले काठमाडौं प्रहरी परिसरले घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।

घटनालाई साँघुरो बनाउने केही प्रमाण समेत भेटिएपछि प्रहरीले अनुसन्धानको दायरा बढाउँदै सन्दीपविरुद्ध पक्राउ पुर्जीसमेत लिइसकेको छ। बिहीवार प्रहरीले जिल्ला अदालत काठमाडौंबाट लामिछानेलाई पक्राउ गर्ने अनुमति पाएको छ।

विदेशमा रहेका सन्दीप कहिले नेपाल फर्किने भन्ने थाहा नभएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी भरत बोहराले बताए। अदालतले कप्तान लामिछानेलाई पक्राउ गर्न अनुमति दिएसँगै नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय टोलीका कप्तान समेत रहेका सन्दीपलाई निलम्बन गरेको छ।

लामिछानेले आफ्नो ट्विटरको बायोबाट कप्तान भन्ने हटाइसकेका छन्। त्यस्तै, पक्राउ पुर्जी जारी भएको खबर पाएका लामिछानेले नेपाल फर्किने जानकारी दिएका छन्।

सोसल मिडियाबाट आफू निर्दोष रहेको दाबी गर्दै उनले लिग छाडेर नेपाल आउने र कानुन बमोजिमको प्रक्रियामा सहभागी हुने बताएका छन्। उनले आरोपहरू निराधार भएको भन्दै कानुन सबैका लागि समान हुनेमा विश्वस्त रहेको लेखेका छन्।

केही दिनमा नेपाल फर्किने भनेका लामिछाने कहिले नेपाल फर्किने भन्ने यकिन छैन। उनको फिर्ती सबैको लागि चासो हो।

पक्राउ पुर्जी जारी हुनुभन्दा अगाडि सन्दीपले क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लसँग सम्पर्क गरेका थिए। लामिछानेले क्यानसँग कानुनी सहयोग मागेको र केही समय फर्किने बताएका थिए।

लामिछाने केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा पुगेका थिए। जुन खेल क्लबको हो जहाँ क्यानसँग कुनै सरोकार रहन्न। सन्दीपले नै क्लबसँग खेलको विषयमा डिल गरेका हुन्छन्। क्यानले केबल खेल्न जान अनुमतिमात्र दिने हो।

सन्दीप नेपाल कहिले फर्किन्छन् भन्ने विषयमा जानकारी लिन उनका व्यवस्थापक रमन सिवाकोटीलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच अफ थियो।

भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटेलमा लगेर करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए।

त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए।

नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए। रातिको ११ बजेर ५५ मिनेटमा होटेलमा लगेर लामिछानेले किशोरीलाई पटक पटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटेलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसेको छ।

आरोपी लामिछाने नेपाल बाहिर भए पनि प्रहरीले गर्ने अन्य अनुसन्धानहरू जारी छ। घटना भएको भनिएको होटेलमा पुगेर प्रहरीले प्राप्त गर्ने सक्ने प्रमाणहरू सङ्कलन गरिसकेको छ।

त्यस्तै, पीडित किशोरीको स्वास्थ्य परीक्षणदेखि अन्य प्राविधिक पक्षका अनुसन्धान पनि जारी राखेको छ। सँगै प्रहरीले सन्दीपको प्रतीक्षा गरिरहेको छ।

घटनामा सन्दीपको बयान र घटना नभएको पुष्टि गर्ने आधार र प्रमाणहरू उनले पनि पेस गर्न पाउँछन्। अहिलेसम्म बाहिरिएको घटना पीडितको उजुरी र प्रहरीको केही अनुसन्धानको पाटोमात्र हो।

सन्दीपले पेस गर्ने प्रमाण र बयानको आधारमा पनि प्रहरीले थप अनुसन्धान गर्नेछ। तर, प्रहरीले पक्राउ गर्ने अनुमति पाएकाले उनी विदेशबाट फर्किने बित्तिकै विमानस्थलबाट नै समातिने छन्।

प्रतिक्रिया