Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०५:५४

बाढीपहिरो प्रभावितलाई उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

सम्बाददाता सम्बाददाता
शनिबार, भदौ २५, २०७९
बाढीपहिरो प्रभावितलाई उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन्।

उनले आवश्यकतानुसार हेलिकोप्टरको प्रयोग गर्नसमेत निर्देशन दिएका हुन्।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाणको निर्देशनपछि बाढी र पहिरामा परी गम्भीर घाइतेको उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको र घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी दिए।

नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी मोहन आचार्यका अनुसार महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिराले ठूलो क्षति पुर्‍याएको छ।

अहिलेसम्म पाँच जनाको शव भेटिएको छ भने ९ जना बेपत्ता तथा आठ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको उनले बताए।

गृहमन्त्री खाणले बाढी पहिराबाट विस्थापितलाई तत्कालीन राहत, उद्धार र स्थानान्तरणमा कुनै कमी हुन नदिन यथाशीघ्र उद्धार गर्न निर्देशन दिए। बाढीबाट लास्कु क्षेत्रका चार, बाङाबगड क्षेत्रका ११ घर तथा दशरथनगर आधारभूत विद्यालयमा पूर्ण क्षति पुगेको छ।

दुहुँ र महाकाली जोड्ने लास्कुखोलाको झोलुङ्गे पुल र मोटरेबल पुल बगाएको छ। बाढीले पार्किङमा राखेका पाँच जीप, एउटा ट्रयाक्टर र एउटा समेत बगाएको प्रहरी जनाएको छ। अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी खोज तथा उद्धारमा खटिएका छन्।

प्रतिक्रिया