Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:४५

दार्चुलामा बाढी पहिरोका कारण ज्यान गुमाएका पाँच जनाको सनाखत, सात अझै सम्पर्कविहीन

सम्बाददाता सम्बाददाता
शनिबार, भदौ २५, २०७९
दार्चुलामा बाढी पहिरोका कारण ज्यान गुमाएका पाँच जनाको सनाखत, सात अझै सम्पर्कविहीन

दार्चुलामा गएराति आएको विध्वंसक बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा महाकाली नगरपालिकाका दुई र नौगाड गाउँपालिकाका तीन जना छन् । बाढी पहिरोमा परी सातजना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलङ्गाका रहेका छन् । 

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ डुङरीका ३५ वर्षीया मानमति कार्की तथा नौगाड गाउँपालिका–१ का ३५ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ४५ वर्षीय मोहनराम पार्की छन् ।

यता पहिरोमा परेर  नौगाड–४ का  रामसिँह ठगुन्ना,  विरा ठगुन्ना, फागुली ठगुन्ना र जयवहादुर ठगुन्ना घाइते छन् ।

उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको  हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै केही बेर अघि कैलालीको धनगढी लगिएको सहायक सहायक प्रमुख जिल्ला अधिकारी साउदले जानकारी दिए । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि चारैजनालाई धनगढी लगिएको उनले बताए । 

यस्तै बाढी पहिरोमा बेपत्ता महाकाली नगरपालिकाको लास्कु र डुङरीका सात जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजि गरिरहेका छन् ।

बेपत्तामा महाकाली–३ डुङरीका धनसिंह कार्की तथा उनका छोराहरु दीपक र दिनेश तथा अन्य चारजना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

केहिबेमा राहत सामग्री बोकेर नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु र सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मान बहादुर धामी (सन्ताष) हेलिकप्टर मार्फत दार्चुला आउने तयारी रहेको बताइएको छ । 

गएरातिको अविरल बर्षाका कारण महाकाली नदीमा बाढी आएको हो । दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ । 

वि.सं. २०७० साल असार २ गते आएको विनाशकारी बाढीको ९ बर्षपछि हिजो आएको खलंगा क्षेत्रमा ठूलो धनजनको क्षती पुर्याएको महाकाली नदीमा जलस्तर बढेर पक्की तटबन्धको माथिसम्म चढेको स्थानीयले बताएका छन् । लास्कुखोलामा आएको बाढीले दर्जन बढी घरहरु बगाएको छ ।

बाढीले त्रासले नदी तटिय क्षेत्रका मानिसहरु सबै रातीदेखिनै घरबाहिर निस्किएका छन् । बाढीले बंगाबगड क्षेत्रका घर र पुल बगाएको तथा उद्धार कार्य जारी रहेकोले क्षतिको एकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया