Wide Nepal News शनिबार ०५, जेठ २०८१ १२:४९

लिपुलेक, लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेकै कारण एमालेमाथि घेराबन्दी भयो : महासचिव पोखरेल

सम्बाददाता सम्बाददाता
शुक्रबार, भदौ १७, २०७९
लिपुलेक, लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेकै कारण एमालेमाथि घेराबन्दी भयो : महासचिव पोखरेल

नेपाल कम्युनिस्ट पार्टी एमाले दार्चुलाले आयोजना गरेको एक दिने अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्न पार्टीका केन्द्रीय महासचिव शंकर पोखरेल दार्चुला पुगेका छन् । 

दार्चुला जिल्लास्थित एमाले नेता, कार्यकर्ता, भातृ संघसंगठन तथा जनवर्गिय र पेसागत संगठनका पदाधिकारी सहित अगुवा कार्यकर्ता सहभागि रहेको जिल्ला भेलामा महासचिव पोखरेल संगै नेकपा एमालेका सचीव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, पोलिट ब्युरो सदस्य एवम् सुदूरपश्चिम प्रदेशका सह-इन्चार्ज गणेशसिंह ठगुन्ना, पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायत जिल्लास्थित नेताहरुले सम्बोधन गरेका थिए । 

महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल कम्युनिस्ट नरहेको टिप्पणी गरेका छन् । दार्चुलामा जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा महासचिव पोखरेलले कांग्रेस सभापति शेरबहादुर देउवाको पछि लागेको भन्दै प्रचण्ड र माधव कम्युनिस्ट नरहेको आरोप लगाए ।

‘प्रचण्ड र माधव नेपाल कम्युनिष्ट होइन । भएको भए देउवाको पछि लाग्ने थिएनन् । नेपालको राजनीतिमा संसदीय लोकतन्त्रको बदनाम गर्ने, दरबारलाई बुझाउने र प्रतिगमनका मतियार हुन् देउवा’ उनले भने, ‘तीनको पछि लाग्नु भनेको कम्युनिष्ट आन्दोलनमाथिको घात हो । जनता माथि गद्दारी हो ।’

पोखरेलले शेरबहादुर देउवा जनताको प्रधानमन्त्री नभएको र अदालतको प्रधानमन्त्री रहेको बताए । ‘प्रचण्ड र माधव नेपालले जनताले हराएको शक्तिलाई प्रधानमन्त्री बनाए । जनताको जनादेशविरुद्ध जाँदाको परिणाम मंसिर ४ पछि थाहा हुन्छ’ उनले भने । पछिल्लो पटक प्रधानन्यायाधीशले संसदीय समितिमा दिएको बयानले सबैको भन्डाफोर भइरहेको समेत टिप्पणी गरेका थिए । उनले भने, ‘गठबन्धनको काम उदाङ्गो भएको छ । कांग्रेसले प्रतिनिधिसभा भङ्ग गर्छ अदालतले स्वीकार गर्ने कम्युनिष्टले गर्दा रोक्ने विषयमा पनि प्रष्ट भएको छ ।’

देशभक्ति, विकास र समृद्धिमा एमाले सबै भन्दा अगाडि रहेको समेत पोखरेलले बताएका थिए । लोकेन्द्र बहादुर चन्द र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि विकास हुन नसकेका क्षेत्रमा केपी शर्मा ओली प्रधानमन्त्री भएपछि परिवर्तन भएको पोखरेलको भनाइ थियो ।

‘लोकेन्द्र चन्द र शेरबहादुर प्रधानमन्त्री हुँदा पनि पछाडि परेको सुदूरपश्चिम प्रदेशमा केपी ओली प्रधानमन्त्री भएपछि विकासमा केही फरक आयो । अहिले त्यो रोकिएको छ’ उनले भने, ‘फेरि हामी जित्छौं र विकास र समृद्धिलाई अगाडि बढाउँछौँ ।’

पोखरेलले वर्तमान सरकार जनताको हितमा नभएको भन्दै थप एक वर्ष रहे नेपालको अवस्था श्रीलङ्काको जस्तो हुन सक्ने बताएका थिए ।

गुमेको भूभाग समेटेर नक्सा सार्वजनिक गरेकै कारण एमालेमाथि घेराबन्दी सुरु भएको उनको भनाइ थियो । उनले भने, ‘त्यो घेराबन्दी मंसिर ४ गते नेपाली जनताले तोड्ने छन् ।’

आगामी मसिंर ४ मा हुने संसदीय निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि दार्चुलामा एमालेबाट गणेशसिंह ठगुन्ना निर्विकल्प उम्मेदवार रहेका चर्चा छ भने प्रदेश सभाका उम्मेदवारको टुंगो लाग्न बाकीं रहेको छ ।

आजको जिल्ला भेलाबाट नेपाली कांग्रेश दार्चुलाका नेता उमेशसिंह खत्री, नेकपा (एकिकृत समाजवादी) का प्रदेश सदस्य इन्द्र बिष्ट, नेपाल विद्यार्थी संघ दार्चुलाका विद्यार्थी नेता, दिपकसिंह खाती लगायतले एमाले प्रवेश गरेको एमाले दार्चुलाले जनाएको छ । 

पोखरेलले बिहिबार (अिजो) बैतडीको पाटनमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई समेत सम्बोधन गरेका थिए । 

प्रतिक्रिया