Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:४४

दार्चुलामा पाठ्यपुस्तक अभाव, पठनपाठन प्रभावित भइरहेको शिक्षक-विद्यार्थीको गुनासो

Wide Nepal News
शनिबार, जेठ १४, २०७९
दार्चुलासहित सुदूरपश्चिममा नयाँ पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ । जेठ ३ गतेदेखि नयाँ शैक्षिकसत्र सुरू भए पनि पाठ्यपुस्तकको अभावमा पठनपाठन गर्न नसकिएको दार्चुलाका विभिन्न विद्यालयबाट गुनासो आएको हो । जनक शिक्षा सामग्री केन्द्रले दार्चुलासहित सुदूरपश्चिम प्रदेशमा यो वर्ष मात्रै २४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्ने बताइएको छ । तर जेठ ३ गतेबाट नयाँ शैक्षिकसत्र सुरू भए पनि विद्यार्थीको हातमा अहिलेसम्म पाठ्यपुस्तक पुगेको छैन । शैक्षिकसत्र सुरु भएसँगै विद्यार्थी भर्ना अभियान समाप्त भए पनि किताब नहुँदा पठनपाठन गर्न समस्या भएको लटिनाथ नमुना माबिका शिक्षक डम्बरध्वज जोशीले बताउनुभयो । सामुदायिक विद्यालयले पुराना पुस्तक विद्यार्थीबाट फिर्ता मागेर केही विद्यार्थीलाई दिए पनि कक्षा ४, ७ र ९ मा यो वर्ष पूरै पाठ्यक्रम परिवर्तन भएकोले ती कक्षामा के पढाउने भन्ने अन्योल भएको शिक्षकहरुले बताएका छन् । शिक्षकहरूले पाठ्यक्रम डाउनलोड गरेर पढाउने प्रयास गरे पनि विद्यार्थीमा किताब नहुँदा अभिरुचि जगाउन नसकिएको बताएका छन् । सरकारी विद्यालयको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले भने सुदूरपश्चिम प्रदेशका सबै सरकारी विद्यालयमा जेठ मसान्तसम्म पाठ्यपुस्तक पुग्ने दाबी गरेको छ । बाजुरा र दार्चुला जिल्लाका लागि आवश्यक पर्ने पाठ्यपुस्तक पठाइ सकिएको बताइएको छ । दार्चुलाका लागि पाठ्यपुस्तक पठाएको बताएपनि वितरकहरुका अनुसार माग तथा आवश्यकता अनुसार पाठ्यपुस्तक प्राप्त भएको छैन् । आज मात्रै केही पाठ्यपुस्तक प्राप्त भएको खबर छ, जिल्ला आइपुग्न अझै केहि दिन लाग्नसक्छ, लेकम क्षेत्रका पुस्तक वितरक ऐडिबाग पुस्तक पशलका सञ्चालक इश्वरी जोशीले भन्नुभयो, अझैपनि पुरा पाठ्यपुस्तक प्राप्त भएको छैन् । अछाम र बझाङका लागि शुक्रबार र शनिबार पठाउने बताइएको छ । अन्य पहाडी जिल्लामा आउने हप्ताभित्र सबै पुस्तक पठाइसक्ने र त्यसपछि कैलाली र कञ्चनपुरका सरकारी विद्यालयले पुस्तक पाउने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक ध्रुवराज पन्तले बताउनुभयो । हामीले दुर्गम पहाडी जिल्ला बाजुरा र दार्चुलामा आवश्यक पर्ने पुस्तक पठाइसकेका छौँ, उहाँले भन्नुभयो, आउने हप्ता सबै पहाडी जिल्लामा पठाइसक्ने छौँ र जेठ मसान्तसम्म प्रदेशका सबै विद्यालयमा पुस्तक पुगाउने लक्ष्य छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नु परेकोले पाठ्यपुस्तक छपाइमा यो वर्ष केही ढिलाइ भएको जनाएको छ । दुर्गम जिल्लामा पहिले वितरण गर्ने योजना भएकोले कैलाली र कञ्चनपुरका लागि अर्को हप्ताबाट किताब दिने जनाएको छ ।

प्रतिक्रिया