Wide Nepal News शनिबार ०५, जेठ २०८१ १०:१३

एमालेमा फर्किएका हल्ला फैलिएपछि डिलासैनीका 'स्वतन्त्र' को स्पष्टीकरण: हामी कहीँ गएका छैनौं

सम्बाददाता सम्बाददाता
शुक्रबार, भदौ १०, २०७९
एमालेमा फर्किएका हल्ला फैलिएपछि डिलासैनीका 'स्वतन्त्र' को स्पष्टीकरण: हामी कहीँ गएका छैनौं

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिइ गाउँपालिका अध्यक्ष सहित ३ वडाअध्यक्ष जितेका बैतडीको डिलासैनी गाउँपालिकाका जनप्रतिनिधी फेरि एमालेमै फर्किएका समाचार विभिन्न सञ्चारमाध्यममा आएसंगै सामाजिक सञ्जालमा यतिखेर उनीहरुको आलोचना भइरहेको छ । 

बिहिबार सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा बैतडीमा स्वतन्त्रबाट निर्वाचित जनप्रतिनिधी एमालेमा फर्किएका समाचार बाहिरिएका थिए । तत्पश्चात् स्वतन्त्रका रुपमा जनताले जिताएका जनप्रतिनिधी फेरि एमालेमै फर्किएर जनमतको कदर नगरेको, स्वतन्त्रका नाममा आफूहरुलाई धोका दिएको जस्ता प्रतिक्रिया दिदैं स्थानीयले लगातार सामाजिक सञ्जाल तताइरहेका छन् । 

यद्यपी डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले भने उक्त समाचारमा कुनै सत्यता नरहेको भन्दै आपत्ति जनाएका छन् । अध्यक्ष जोशीले उक्त समाचारको खण्डन गर्दै आफ्ना शुभेच्छुक एवम् समर्थहरुको जनभावनामा ठेस पुगेको तथा समाचार प्रकाशन र प्रशारण गर्नुपूर्व आधिकारिक निर्णयका लागि सम्पर्क/समन्वय गर्न अनुरोध समेत गरेका छन् । 

यता डिलासैनी गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष यज्ञराज भट्टले एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसित भेट भएको स्विकार्दै भेटमा आफूलाई निर्वाचित भएकोमा उहाँहरुले बधाइ दिनुभएको बताएपनि पार्टी प्रवेश गरेको सम्बन्धि भने खुलाएका छैनन् । भट्टले चाडैँ यसबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी गराएका छन् । 

गाउँपालिका अध्यक्ष जोशीले भने कागले कान लग्यो भन्दा कान छोएर सुनिश्चित हुन , सुनेकै भरमा कागका पछि नदौडिन आग्रह गरेका छन् । 

उनले उक्त समाचारहरुप्रति आपत्ति जनाउदैँ लेखेका छन्, 'आधिकारिक निर्णयका लागि सम्पर्क तथा समन्वय गर्न हुन आग्रह गर्दछु । '

उनले आफ्नो व्यक्तिगत सामाजिक संजालमा अगाडी लेखेका छन्, 'आफुहरूको पूर्णतया डिलासैनी जनताको न्याय, मुक्ति र माटोको लागि केन्द्रीत छ । सकिन्छ समृद्धीका निमित्त , गरिबी निवारण गर्न , पछौटेपन हटाउन , सामाजिक/सांस्कृतिक, आर्थिक परिवर्तन ल्याउन, बेरोजगारी हल गर्न , बैदेशिक रोजगारीमा रहेकाहरुलाई स्वदेशमा काम गर्ने वातावरण तयार गर्न तथा बिकासको मुल फुटाउन , जनताको मुहारमा खुसी ल्याउन सक्रियता का साथ लागौं अन्यथा समय बर्बाद नगरौं ।' 

'मिती मात्रै बदलिएको छ , हाम्रा बस्तीहरु अहिले पनि अन्धकारमय छन् , पैदलघोरेटो बाटो पनि आफैले पत्ता लगाएर हिड्नु पर्ने अवस्था छ , गाउँपालिकाको केन्द्रसम्म सडकको पहुँच पुग्न सकेको छैन , बादल वा पानी पर्दा वा अध्याँरो हुँदा मात्रै होईन यत्तिकै पनि मोबाईलमा नेटवर्क छैन, पढ्नलाई बिधालय छैन , खानेपानी छैन ।'

'....आज के परिवर्तन भयो र हामी दलको फेरो समात्छौं  ? यत्ति चाहिँ हो कि प्रदेश र संघीय निर्बाचन समिप मा छ । ढुक्क हुनुहोस् हामी सही समयमा सही पदमा सही ब्यक्ति निर्बाचित गराउन अमूल्य मतदान गर्नेछौँ ।'

'हाम्रो स्वतन्त्रा राजनीतिक दल सहितको स्वतन्त्रा पक्कै होईन यसको अर्थ हामी बीचार शून्य भने पक्कै हुन सक्दैनौ ।
थोरै धेरै बादहरुको ज्ञान छदैँछ । यहाँको भूगोलरमाटो सुहाउदोँ बिचार र बाद हामी आफैँ कार्यान्वयन तथा निर्माण गर्न सक्ने ल्याकत पनि त छदैँछ ।'

उनले जनताको सेवामा आफूहरु अनवरत रहंदै आएको पुष्टि जनमतले गरिसकेको हुँदा समाजबादको यात्रा मा सारथी बनिरहन, साँचो अर्थमा सहीद, बेपत्ता, अपांगता भएका एबम् जनयोद्धाहरुको मुक्ति र न्यायका खातिर एकताबद्ध भइ नयाँ ईतिहास दर्ज गर्नेगरि सचेततापुर्बक लामबद्ध भई समानता , समता , समृद्धी र स्वतन्त्रता को मोर्चामा अनवरत रहने बताएका छन् । 

स्थानीय तहको निर्वाचनताका डिलासैनीमा टिकट वितरणमा विवाद भएपछि जोशीको टिमले एमाले पार्टी परित्याग गरि स्वतन्त्रबाट पुतली चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिएका थिए।

स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा भाग लिएका जोशीको टिमबाट गाउँपालिका अध्यक्षसङ्गै ३ जना वडा अध्यक्ष प्यानलसहित निर्वाचित भएका थिए। 

प्रतिक्रिया