Wide Nepal News शनिबार ०५, जेठ २०८१ ११:४७

दार्चुलामा सत्ता गठबन्धनबाट प्रतिनिधी सभामा माओवादी केन्द्रको दाबी

सम्बाददाता सम्बाददाता
बुधबार, भदौ ०८, २०७९
दार्चुलामा सत्ता गठबन्धनबाट प्रतिनिधी सभामा माओवादी केन्द्रको दाबी

नेकपा माओवादी केन्द्रले आगामी मसिंर ४ मा हुने प्रतिनिधी सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दार्चुला सहित ६ सिटमा दाबी गरेको छ ।

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा प्रतिनिधी सभाका १६ सिट मध्ये दार्चुला सहित ६ सिटमा दाबी गरेको हो । 

सुदूरपश्चिममा प्रत्यक्षतर्फ प्रतिनिधी सभाका १६ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३२ निर्वाचन क्षेत्र रहेको छ । आगामी निर्वाचनमा सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितको सत्ता गठबन्धन हुने निश्चितप्राय देखिएको छ । 

संघ र प्रदेशमा देशभर सत्ता गठबन्धनका साझा उम्मेदवार हुने छन् । आफूहरुले कम्तिमा पनि संघमा ६ र प्रदेशमा १३ सिटमा दाबी गर्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इञ्चार्ज खगराज भट्टले बताए । 

सत्ता गठबन्धनमा माओवादी दोस्रो ठूलो दल भएकाले पनि आफूहरुको दाबी स्वभाविक भएको भट्टको भनाइ छ । उनका अनुसार दार्चुला,कञ्चनपुर–१, अछाम, डोटी र कैलाली गरी माओवादीले संघका ६ सिटमा दाबी गर्नेछ । 

केन्द्रको सहमतिअनुसार केही सिटमा स्थान परिवर्तन समेत हुने सम्भावना छ । नेता भट्टले भने, “एमालेसँग वाम एकता हुँदा हामीले पाएको सिट छाड्ने कुरा भएन । त्यसबाहेक अन्य कुरा केन्द्रीय नेतृत्वले टुङ्ग्याउला । गठबन्धन भनेपछि एक दलले चाहेर मात्रै हुँदैन । सबैलाई न्याय र सम्मानजनक उपस्थिति चाहिन्छ ।”

माओवादीले डोटी दाबी गरेमा त्यहाँ भने सकस हुने देखिन्छ । एकीकृत समाजवादीका प्रेम आले र कांग्रेस नेता वीरबहादुर बलायरको डोटी एकै क्षेत्र हो । 

माओवादी नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको समेत डोटीको सोही क्षेत्र भएकाले उनले संघमा दाबी गरे मिलाउन कठिन हुने देखिन्छ । मिलाउन समस्या देखिने अर्को क्षेत्र दार्चुला हो । दार्चुलामा माओवादीले संघ नछाड्ने संकेत देखाएको छ ।

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले पनि यसपटक प्रत्यक्षमा चासो देखाएका छन् । गत वैशाख सम्पन्न भएको स्थानिय तहको नतिजाका आधारमा अन्य जिल्लाभन्दा दार्चुलामा माओवादीको उपस्थिती बलियो रहेको जनाएको छ । 

दार्चुलामा नेकपा माओवादी केन्द्रले ४ स्थानिय तहको प्रमुखमा जितेको छ भने नेपाली कांग्रेसले ३ वटा स्थानीय तहमा उपाध्यक्षमा सिमित छ ।

प्रतिनिधी सभामा दार्चुलाबाट माओवादी केन्द्रले दाबी नछाडे बडुको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती कांग्रेसलाई देखिएको छ । 

प्रतिक्रिया